२२ मंसिर २०८०, शुक्रबार

पुरानोलाई आफ्नो बनाउने चक्करमा बिग्रियो नेपाली संगीत

मध्यमार्ग

संगीतकारहरूले नेपाली संगीतको गुणस्तर खस्किँदै गएको बताएका छन् । बजारमुखी हुनु र चर्चाको भोक पाल्नु नै यसको कारण भएको उनीहरूको बुझाइ छ । गुणस्तरभन्दा पनि चर्चाका पछाडि लाग्नु र पुरानो संगीतलाई नै आफ्नो बनाउने चक्करले नेपाली संगीतलाई माथि नउठाउने संगीतकार शम्भुजित बास्कोटा, अर्जुन पोखरेल र हरि लम्साल बताउँछन् ।

संगीतकार अर्जुन पोखरेल पहिला पूरै गीत चल्ने तर अहिले गीतको लाइन चल्ने टिप्पणी गर्छन् । नारायणगोपाल, गोपाल योञ्जनको पालामा चार मिनेटको गीत चल्ने तर अहिले एक वा दुई लाइन मात्रै चल्ने उनको अनुभव छ ।

“सुरुसुरुमा ध्रुपद गायन शैली, धमार गायन शैली लोकप्रिय थियो । तर, त्यो अफ्ठ्यारो भएकै कारण पछिल्लो समय लोप हुँदै गयो । रागको नियममा बस्नु पर्ने तर कराएर, चिच्याएर, उठेर गाउनुपर्ने यो शैली हेबी मेटलजस्तै हो,” अर्जुन भन्छन्, “यसका लागि पावरफुल घाँटी चाहिन्थ्यो । यो गायन शैलीमा महिला कम थिए । कराएर गाउनु पर्ने भएका कारण सक्तैन थिए भनिन्छ ।”

Himalayan Bank
Dabur nepal
Agni Group
अहिले ध्रुपद र धमारसँगै क्लासिकल गायन शैली पनि आझेलमा परिसकेको उनको भनाइ छ । अहिले कल्पनाको ख्याल गर्दैै गाउने ख्याल संगीत चलिरहेको उनको भनाइ छ ।

पछिल्लो समय आफू अनुकूल शैलीमा संगीतलाई ढालेर गीत गाउने चलन बढेको अर्जुनको अनुभव छ । समय र प्रविधिको उच्चतम प्रयोगले संगीतमा पनि प्रभाव पारेको उनी बताउँछन् । अहिले युट्युबबाट पनि दर्शक टिकटकमा सिफ्ट भइरहेको अर्जुनको भनाइ छ ।

“मेरै कुरा गर्दा अहिले म पहिलो युट्युबभन्दा टिकटक हेर्छु । टिकटकमा दुई मिनेटमा २०/२२ वटा कन्टेन्ट हेर्न पाइन्छ, जबकि युट्युबमै एउटा गीत हेर्न कम्तीमा साढे तीन मिनेट लाग्छ,” अर्जुन भन्छन्, “गीतसंगीतलाई नै पेसा बनाउँछु भनेर लाग्ने हामीलाई टिकटक चुनौतीका रूपमा आएको छ ।”

समग्रमा गीत राम्रो बनाउनु पर्छ भन्ने चुनौतीसँगै टिकटकमा कुनै न कुनै लाइन चल्नुपर्छ भन्ने मानसिकताले गीत रचना र संगीत सिर्जना गर्दा काम गर्ने गरेको उनको भनाइ छ । चल्ने/नचल्नेभन्दा पनि राम्रो गीत बनाउँछु भनेर भन्ने अवस्था कमै रहेको उनी बताउँछन् ।

“हामीले मात्रै गीतको मुड परिवर्तन गर्नुपर्छ भनेर हुँदैन । दर्शकको रुचि के मा छ भन्ने कुराले अर्थ राख्छ,” उनी भन्छन्, “संसारकै गीतको मुड अहिले फरक छ । संसारभरका गीतसंगीतमा दर्शक/स्रोताको पहुँच छ । त्यसैले १५ देखि २० सेकेन्डमा टिकटकका दर्शकलाई होल्ड गर्न सकिएन भने अहिले फ्लप भइन्छ ।”

अहिले पहिलाको जस्तो काव्यात्मक गीत लेख्ने अवस्था नरहेको अर्जुन बताउँछन् । पहिला गीतमा बिम्व र प्रतीकका साथै लाक्षणिक शब्द प्रयोग हुने र त्यसलाई आफ्नो बौद्धिकताअनुसार स्रोताले बुझ्ने गरे पनि अहिले गीतमा सिधा शब्दको प्रयोग गर्नुपर्ने बाद्यता रहेको उनको भनाइ छ । “अहिले गीतका शब्द सिधै प्रयोग हुन्छन् । सिधै प्रयोग गरिएका शब्द र गीत मात्रै चल्छ भने किन लाक्षणिक शब्द लेख्ने ?,” अर्जुनको प्रश्न छ ।

कमर्सियल रूपमा हिट गीत निर्माण भए पनि पछिल्लो समय काव्यात्मक रूपमा भने कमजोर हुँदै गएको अर्जुन स्वीकार गर्छन् ।

“कमर्सियल रूपमा हाम्रा गीत सफल भए होला, तर काव्यिक रूपमा भने हाम्रा गीत कमजोर भएका छन् । मेलोडीको कम्पोजिसन र कर्डस प्रोगेसनका हिसाबले भने हामी पहिलाभन्दा कमजोर छौँ भनेर स्वीकार गर्नैपर्छ,” अर्जुन भन्छन्, “बजारलाई हेरेर गीत लेख्ने, संगीत गर्ने गर्दा सर्जक तथा स्रस्टाको सिर्जनाको स्तर अब्बल भए पनि उनीहरूले कमजोर गीत/संगीत सिर्जना गरिरहेका छन् ।”

अर्जुनका अनुसार पछिल्लो समय आधुनिक र लोक गीतसंगीतलाई मिसाएर गीत/संगीतको सिर्जना भइरहेको छ । यसले नेपाली संगीत पुस्तान्तर हुँदै जाने र स्तर वृद्धि नहुने अर्जुनको तर्क छ ।

“पहिलाको कुनै लय हिट छ भने त्यसलाई अहिले मैले गाउँदा त्यो मेरो नेचर र टेक्स्चरमा आउँदा केही फरक देखिन्छ । तर, अहिले हामी यही गरेर यो संगीत नै मेरो हो भनेर भनिरहेका छौँ,” उनी भन्छन्, “कुनै समयका संगीतकारले बनाएको मेलोडी तथा संकलन गरेको भाकालाई आफ्नो टेक्स्चर दिँदैमा त्यो नयाँ हुँदैन । आफ्नोपन दिँदैमा त्यसलाई मेरो हो भनेर भन्न मिल्दैन । पुरानो घरलाई कलर गर्दैमा त्यसलाई नयाँ भन्न मिल्छ र ?”

अर्जुनको अध्ययनको आधार लोक गीत नै हो । उनले पनि लोक गीत/संगीतमा काम गरेका छन् । तर, उनी स्वयंलाई भने अहिलेका लोक गीत पहिलाका जस्ता स्तरीय लाग्दैन ।

उनी भन्छन्, “हामीले अहिले बनाएका फिल्मी लोक गीतभन्दा शम्भुजित बास्कोटाका पालामा बनेका फिल्मी लोक गीतहरू शब्द, एरेन्जेमेन्ट र कम्पोजिसनका हिसाबले धेरै माथि छन्, तुलनै गर्न मिल्दैन ।”

संगीतकार शम्भुजित बास्कोटा अर्जुन पोखरेलको भनाइमा सहमत छन् । पहिलेका सिर्जनालाई बिगारेर त्यसकै केही अंश लिएर अहिले कतिपयले गीतसंगीत ल्याइरहेको उनको भनाइ छ । यसले नेपाली संगीतको स्तरवृद्धि नहुने उनी बताउँछन् ।

“अहिले हाम्रोमा पुरानो गीत/संगीतबाट अलिकति निकाल्ने, अन्य देशका गीतबाट केही निकाल्ने देखिएको छ । एउटा देशको अलिकति, अर्को देशको अलिकति संगीत निकालेर सार्क म्युजिक भइरहेको छ,” शम्भुजित भन्छन्, “मिसमास गरेर गीत ल्याउने चलन देखिएको छ । यस्ता कुराले हाम्रो संगीतको गुणस्तरलाई अगाडि बढाउँदैन ।”

कुनै समय नेपाली गीत/संगीतमा हिन्दी सिर्जनाको पूर्ण प्रभाव रहेको र ठूलो मिहिनेत गरेर आफूहरूले नेपाली संगीतलाई मौलिकता दिएको शम्भुजित बताउँछन् ।

“हामीले मिहिनेत गरेर हाम्रो आफ्नै पहिचानसहितको नेपाली संगीत बनायौँ,” उनी भन्छन्, “अब फेरि हामी आफ्नो पहिचान भुलेर अरूको पछि लाग्छौँ भने नेपाली संगीतको विकास र विस्तार हुँदैन । हाम्रो संगीतको मौलिक पहिचान गुम्छ ।”

अहिलेका गीत/संगीतले नेपाली पहिचान समेटेको छ अथवा छैन स्वयं संगीतकर्मीले आत्मसमीक्षा गर्नुपर्नेमा उनको जोड छ ।

पढेलेखेर आएको नयाँ पुस्ताका कारण नेपाली संगीत नेपालबाहिर पनि पुगिरहेको तर उनीहरूकै कारण भाषा र लवजमा समस्या पनि आइरहेको शम्भुजितको भनाइ छ । प्यारोडीलाई गीत भनेर ल्याउने, व्यंग्य गर्ने र त्यसलाई पनि गीत भनेर सार्वजनिक गर्ने गरिएकोप्रति उनको असन्तुष्टि छ ।

पछिल्लो पुस्तालाई नेपाली संस्कृतिबाट विमुख पार्ने गीत/संगीत पनि आइरहेको शम्भुजितको भनाइ छ ।

“हाम्रो नेपाली संस्कार र संस्कृतिमा गाली गर्ने चलन छैन । तर, यहाँ गीतमा गाली गरिरहेको म सुन्छु, यो गीत सुनेर नयाँ पुस्ताले के सिक्दै छ ?,” शम्भुजितको प्रश्न छ, “आमा–बुवा तथा परिवार के हो ?, संस्कार र संस्कृति के हो ?, नेपाली कला संस्कृति र हाम्रो मौलिकता के हो ?, यसलाई गीत/संगीतले भुल्न हुँदैन ।”

कुनै पनि देशको पहिचान त्यहाँको संस्कार र संस्कृति हुने तर त्यसमाथि नै प्रहार भइरहेको शम्भुजित बताउँछन् । पछिल्लो समय लहडमा माइलेजका लागि सेन्सर नगरिएका गीत/संगीत आएको र त्यो पनि अर्को समस्या भएको उनको भनाइ छ ।

“यसबाट म त्रसित छु । यसले हाम्रो संस्कार र संस्कृतिको विकासमा असर गर्छ भन्नेमा मलाइ डर छ । यसले हाम्रो राम्रो पक्षलाई पनि नकारात्मक प्रभाव पार्दै छ,” शम्भुजित भन्छन् ।

चल्ने गीत चाहियो भनेर प्रोडुसरले सुरुमै भन्दा स्वतन्त्र रूपमा काम गर्ने अवस्था नरहेको संगीतकार हरि लम्साल बताउँछन् । सधैँ काम गरिरहेको व्यक्तिले गरेको आग्रहलाई नकार्न पनि नसकिने तर गर्दा पनि सिर्जनामा बन्देजजस्तो हुने हरिको अनुभव छ ।

“पछिल्लो समय प्राविधिक र बजार विस्तारका प्लेटफर्मका हिसाबले सहज भए पनि चल्ने गीतको चक्करले गुणस्तरमा भने कमी आएको छ,” हरि भन्छन्, “यति भनिरहँदा राम्रो काम भएकै छैन, राम्रो सिर्जना भएकै छैन भन्ने होइन । जसले राम्रो काम गरिरहनु भएको छ, उहाँहरूको सिर्जना ओझेलमा परेको छ ।”

नकारात्मक पक्ष गीत/संगीतमा हाबी भएको अनुभव भइरहेको हरिको भनाइ छ । कसरी गीत चल्छ, कसरी लगानी उठ्छ भनेर सुरुमा दबाब हुने गरेको भन्दै हरि भन्छन्, “युट्युब र टिकटकमा जसरी पनि गीत चलाउनु पर्छ भन्नेछ । यसले कसरी चल्ने गीत लेख्ने भनेर गीतकारले त्यस्तै गीत लेखिरहेको छ । संगीतकारले पनि त्यही नै दबाबमा काम गरिरहेका छन् ।”

नयाँदेखि पुरानो पुस्तालाई चल्ने भोकले सताउँदा सतही गीत/संगीत आइरहेको संगीतकार हरिको भनाइ छ । चल्ने भोकमा राम्रो शब्द र संगीतभन्दा पनि रहरमा आउनेहरू हावी भइरहेको उनको अनुभव छ ।

“अहिले गीतकारकोमा म गायक/गायिकाहरू, म राम्रा गीतहरूको एल्बम निकाल्छु भनेर गीत माग्न कोही जाँदैन । लगानी गर्ने व्यक्तिलाई कसरी लगानी उठाउने भन्ने चिन्ताले संगीतको गुणस्तरमा केही कमी आएको छ । यहीबीचमा आएका राम्रा गीत पनि ओझेलमा परेका छन्,” हरि भन्छन्, “अहिले प्रायः विदेशमा बस्नेले गीतमा लगानी गरिरहनु भएको छ । उहाँहरूलाई चर्चाको भोक छ । त्यसैले सुरुमै चल्ने गीत चाहियो भनेर आउँदा संगीतको स्वछन्दता र स्वतन्त्रतामा बन्देज लागेको छ । यसले समग्र संगीतको गुणस्तरमा धक्का लागिरहेको छ ।”

२८ असार २०८०, बिहीबार १५:२६ मा प्रकाशित
Nabintech