२२ मंसिर २०८०, शुक्रबार

कोशी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश

मुख्यमन्त्री थापाको नियुक्ति तत्कालका लागि जोगियो

रासस

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । आज बुधवार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले काेशी सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नू/नगराउनू भनी अन्तरिम आदेश जारी गरेको हो ।

असार २१ गते नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरमा काेशीकाे मुख्यमन्त्री बन्नुभएको थियो । प्रदेश प्रमुख पर्शुराम खापुङले सभामुखको हस्ताक्षरलाई मान्यता दिएको विरोधमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले असार २२ गते रिट दायर गर्नुभएको थियाे । यसअघि लगातार तीन दिन हेर्न नभ्याइने सूचीमा परेको रिटमाथि आज सुनुवाइ भएको हो ।

सर्वोच्च अदालतकाे आजको फैसलाले तत्कालका लागि भने कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति जोगिएको छ । सर्वोच्चले थापाले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्दा बुझाएका प्रदेशसभा सदस्यहरूको समर्थन, दाबी, हस्ताक्षरलगायतका कागजात र प्रदेश प्रमुख खापुङले गरेको नियुक्तिको निर्णयको सक्कल साउन ३ गतेभित्र झिकाउन आदेश दिएको छ । त्यसपछि ७ गते पेसी तोक्न र निरन्तर सुनुवाइ गर्न पनि आदेश दिएको छ ।

९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका छ, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टीका एक सांसद छन् । सभामुखबाहेक सत्ता गठबन्धनसँग ४६ सांसद छन् जुन बहुमतभन्दा एक मत कम हो ।

२८ असार २०८०, बिहीबार १२:१८ मा प्रकाशित
Nabintech