९ असाेज २०७९, आईतबार
मंसिरअघि नै आमनिर्वाचन हुनसक्ने गगन थापाको संकेत
  • मध्यमार्ग

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आम निर्वाचन मंसिरअघि नै हुनसक्ने संकेत गरेका छन्। उनले नेकपा एमालेले संसद् अवरोध गर्दै गए त्यो सम्भावना रहेको बताएका हुन्।

‘आमचुनाव मंसिरमा हुन्छ वा त्यसभन्दा पहिला हुन्छ, मलाई थाहा छैन। संसद् यसैगरी चल्दै गयो, संसद् यसैगरी चल्न नदिने अवस्था बनिरह्यो। संसद्को उपहास गर्ने काम नेकपा एमालेले गरिरह्यो भने त्यसबेलामा संसद् किन चलाइराख्ने भन्ने प्रश्न उठ्न सक्छ। त्यो बेलामा चुनाव अगाडि हुन पनि सक्छ’, उनले भने।

उनले एमालेले गरिरहेको संसद् अवरोधको सन्दर्भमा आफूहरुले संवाद गरिरहेको बताए। फकाउने कोसिस गरिरहेको, संसद्‌मा आउनुस् भनिरहेको उनको भनाइ छ। आम चुनावमा यस पटक आफूहरुले सानदार ढंगले जितेर आएर पाँच वर्ष सरकार चलाउने उनले बताए। शनिबार कांग्रेसनिकट निजामती कर्मचारी युनियनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेकपा एमालेले गत भदौदेखि निरन्तर संसद् अवरोध गर्दै आएको छ।                                                         स्थानीय तहको निर्वान आउँदो वैशाख ३० गते नै गराइने थापाको भनाइ छ। ‘स्थानीय निर्वाचनको बारेमा कहिलेकाहीँ कसैले व्यक्तिगत रुपमा केही भनेको पढेको सुन्छु। तर, संविधान लेखेर आएको सदस्यमध्ये एक हुँ। यो संविधानले, नियमले, ऐनले, कानुनले हामीलाई निर्वाचन एकदिन पनि तलमाथि गर्ने छुट दिएको छैन। वैशाख ३० गते कांग्रेसले निर्वाचन गराउँछ। र त्यसपछि हामी आमचुनाव गराउँछौँ’, उनले भने।

  • २१ फागुन २०७८, शनिबार १४:२९ मा प्रकाशित
  • Nabintech