१० मंसिर २०७९, शनिबार
महोत्तरीको मटिहानीमा पाँच वटा पसलमा आगलागी, डेढ करोडको क्षति
  • मध्यमार्ग

प्रतिकात्मक तस्विर।

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ८ स्थित बजारमा आज बिहान पाँच वटा पसलमा आगलागी भएको छ। आगलागीबाट करिब डेढ करोड रूपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ।

स्थानीय जगदीशप्रसाद गुप्ताको दुईतल्ले घरमा मटिहानी नपा–७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको सीता किराना पसलमा बिहान ७ बजे विद्युत् सर्ट भई आगलागी हुँदा पसलभित्र रहेको २५ लाख मूल्य बराबरको मालवस्तु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

सोही पसलसँगै टाँसिएर रहेको आरएन अडियो, नेपाल म्याक्स टेलर, समीर रेडिमेड र शत्रुधन ठाकुरले सञ्चालन गरेको नाम नखेलिएको सैलुन र दुईतले भवनको विभिन्न कोठामा पनि आगलागी भई जम्मा डेढ करोड बराबरको धनमाल क्षति भएको डीएसपी विष्टले बताए।

मटिहानी नगरपालिकासँग बारुणयन्त्र नरहेको र छिमेकी जलेश्वर नगरपालिकाको बारुणयन्त्र हेटौँडा गएका कारण आगलागी नियन्त्रणमा समस्या भएको थियो।

करिब दुई घण्टापछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी बताउँछ। आगलागीमा कुनै प्रकारको मानवीय तथा पशुवस्तुको भने क्षती भएको छैन।

  • २१ फागुन २०७८, शनिबार ११:३३ मा प्रकाशित
  • Nabintech