९ असाेज २०७९, आईतबार
एमालेको अवरोध नहटे संसद् विघटन गर्नुपर्ने हुन सक्छ : प्रचण्ड
  • मध्यमार्ग

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब संसद् विघटन गरेर चुनावमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन्। प्रमुख प्रतिपक्ष एमालेले लगातार संसद् अवरोध गरिरहेको भन्दै उनले एमालेको अवरोध नहटे विघटन गरेर चुनावमा जानुपर्ने अवस्था आउने बताएका हुन्।

शुक्रबारदेखि सुरु भएको माओवादीको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यो विषय उठाएको एक केन्द्रीय सदस्यले बताए।

‘प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि संसद् अवरोध कायमै राखेको छ। यस्तो अवस्थामा संसद्ले कामै नगर्न नसक्ने अवस्था आइरहेमा विघटन गरेर चुनावमा जानुपर्ने हुन सक्छ,’ बैठकमा प्रचण्डको ब्रिफिङ सुनेका ती केन्द्रीय सदस्यले भने।

उनका अनुसार अध्यक्ष प्रचण्डले यस विषयमा सत्ता गठबन्धन दलको बैठकमा पनि कुराकानी भइसकेको जानकारी गराएका थिए। केही दिनअघि बसेको सत्ता गठबन्धनको बैठकमा प्रचण्डले नै यो विषयलाई प्रवेश गराएका थिए।

‘संसद्ले कामै नगर्ने अवस्था रहने हो भने अहिलेकै जसरी संसद् चलाएर जान सकिने अवस्था रहँदैन। त्यसो भएकाले विघटन गरेर अर्लि इलेक्सनको दिशातर्फ पनि जान सकिन्छ,’अध्यक्ष दाहालको भनाइ उधृत गर्दै ती नेताले भने, ‘यस विषयमा गठबन्धन दलहरुको पनि केही समझदारी बनेको देखिएको छ। तर, अन्तिम निर्णय भइसकेको छैन।’

बैठकमा अध्यक्ष दाहालले गठबन्धन दलका तर्फबाट प्रमुख प्रतिपक्षी दललाई संसद् अवरोध हटाएर सहज वातावरण बनाउन आग्रह गरिएकाले अझै केही प्रयास भने जारी राखिने बताएका थिए।

  • २० फागुन २०७८, शुक्रबार १८:१२ मा प्रकाशित
  • Nabintech