९ असाेज २०७९, आईतबार
नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन २७ देखि २९ सम्म हुने
  • मध्यमार्ग

निर्माणसँग सम्बन्धित विभिन्न विषयमा जानकारी दिने उद्देश्यले आयोजना गरिने नेपाल बिल्डकन इन्टरनेसनल एक्सपो यही फागुन २७ देखि २९ मा हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रालि र फ्यचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा आयोजना गर्ने प्रदर्शनीको सातौँ संस्करण हुन लागेको हो। प्रदर्शनी भृकुटीमण्डपमा हुनेछ।

आयोजकका अनुसार प्रदर्शनीमा विभिन्न देशका तीन सयभन्दा बढी ब्राण्ड एक सय ५० भन्दा बढी स्टल रहने छन्। यसमा निर्माण कम्पनी, डिलर, सबडिलर र विक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिका बारेमा जानकारी गराउने जनाइएको छ।

विगत ६ वर्षदेखि आयोजना हुँदै आएको यो प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरीहरू, हेभी इक्युपमेन्ट, प्रिफ्याब स्ट्रक्चर, युपिभिसी झ्याल तथा मेसिनरी, युपिभिसी प्रोफाइल, झ्याल र ढोकाहरू, आर्टिटेक्टरल हार्डवेयर, बाथरुप फिटिङ राखिने आयोजकको भनाइ छ।

त्यस्तै, पाइपहरू, टाइल्स र सेनिटरिवेयर, रुफिङ, प्रि–इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स, कंक्रिट ब्लक मेसिनरी निर्माताहरू, अर्थ मुभिङ इक्युपमेन्ट्स, मेटेरियल ह्यान्डलिङ इक्युपमेन्टर, एलुमिनियम कम्पोजिट प्यानलहरूको पनि सहभागिता रहने जनाइएको छ।

मिडिया स्पेस सोलुसन्स प्रालिका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले प्रदर्शनीमा टाइटल स्पोन्सर हुलास स्टिल इन्डस्ट्रिज रहने बताए। अन्य सहयोगी संस्थाहरूमा नेपाल इन्जिनियरिङ एसोसिएसन, नेपाल निर्माण व्यवसायी महासंघ, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स, हेभी इक्युपमेन्ट पार्टस् एसोसिएसन तथा कफिडेरेसन अफ इन्डियन इन्डस्ट्री रहने उनको भनाइ छ। तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको उनले बताए।

प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका आर्किटेक्ट, इन्जिनियर, कन्ट्र्याक्टरस, बिल्डरस, इन्टेरियर डिजाइनर, घर बनाउन चाहने व्यक्ति तथा आमनागरिकको उल्लेखनीय सहभागिता रहने आयोजकले विश्वास व्यक्त गरेको छ।

  • २० फागुन २०७८, शुक्रबार १६:२९ मा प्रकाशित
  • Nabintech