९ असाेज २०७९, आईतबार
कोरला पुग्दा रोएको नेपाली मन
  • कश्यप न्यौपाने

लेखक न्यौपाने र उनको समूह नेपाल–चीन सीमा कोरलामा।

‘कोरला पुग्नुस् न पहिला, अनि थाहा हुन्छ कस्तो मन रुन्छ!’

अपर मुस्ताङस्थित नेपाल र चीनबीचको सीमा नाका कोरला पुग्ने उत्साह बोकेर काठमाडौंबाट करिब ४ सय किलोमिटर मोटरसाइकल यात्रा गरेर छुसाङ पुगेका हामीलाई निराशा देखाउँदै उनले भने। उनको भनाइमा थोरै आक्रोश मिसिएको आभास पनि हुन्थ्यो।

उनका कुरालाई निकै चासो दिएर हामीहरुबीचको गफमा सहभागी गगन ‘अविदित’ले प्रश्न गरे। ‘किन र सर?’

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङमा रहेको जन नर्मल माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका स्थानीय होटल व्यवसायी श्यामकुमार गुरुङसँग गगनले प्रश्न सोधेका थिए। श्यामकुमारले नै थिए, त्यसरी हामीलाई निराशा देखाइदिएका।

‘माथि पुग्नुस् न पहिला, आफैं थाहा पाउनु हुन्छ’ हल्का ‘रिजर्भेसन’ राख्दै ‘हेडसर’ले उत्तर दिए।

काठमाडौंबाट दशैं टीकाको भोलिपल्ट मोटरसाइकलमा अपर मुस्ताङ यात्रामा निस्किएको हाम्रो आठ सदस्यीय टोली ‘हेडसर’ को ‘थाहा पाउनुहुन्छ’ भन्ने भनाइमा कौतुहलता व्यक्त गरिरहेको थियो।

उनले त्यसबारे हामीलाई नै उत्तर खोज्न भनेपछि विद्यार्थीले पाएको गृहकार्य जस्तै हामीले स्वीकारोक्ति जनायौं।

‘किन होला दादा?’ (दौतरी भएपनि सँगै हुँदा एक अर्कालाई पछिल्लो समय हामीमा दादा भन्ने बानी परेको थियो) सँगै बसेका टोलीका नेतृत्वकर्तासमेत रहेका प्रेम शिरिष मगरले मैलाई सोधे।

‘त्यही त होला नि! जताजतै सीमा मिचिएको छ, त्यहाँ पनि त्यही त होला!’ मैले अनुमानकै भरमा स्वाभाविक उत्तर दिएँ।

कालिगण्डकी करिडोर अन्तर्गतको सडकसँगै जोडिएको श्यामकुमारको होटल दशैंको सिजनमा प्रायः खाली हुँदैन।

दुई छोरी र श्रीमतीसँगै होटल चलाइरहेका उनको स्याउ वगैंचा पनि छ।

राति १० बज्नै लाग्दा निकै आकर्षक ढंगले सजाइएको उनको परम्परागत भान्सामा बसेर खाना खाइरहँदा ‘हेडसर’ले हामीलाई मुस्ताङको विशेषता, भौगोलिक अवस्था र ‘खम्पा विद्रोह’बारे सुनाएका थिए। शिक्षक भएका कारण हामीले यात्रामा भेटेका मुस्ताङेमध्ये उनी ‘अब्बल’ थिए।

उपल्लो मुस्ताङ पुग्दा के के कुरामा विचार गर्ने र कुन ठाउँमा खाना खान उपयुक्त हुन्छ भन्ने उनले जानकारी दिँदा हामीलाई यात्रामा केही सहजता मिलेको थियो।

भोलिपल्ट हामी ‘हेडसर’ को ‘होमवर्क’ को खोजीमा लोमन्थाङमा खाना खानेगरि विहान ७ बजेतिरै निस्कियौं।

कहिल्यै उच्च हिमाली क्षेत्रमा नपुगेका हामीलाई हरेक मोड र उचाई अनौंठो लागिरहेको थियो।

‘हेभन (स्वर्ग) भनेको यही हो’, उचाइमा मोटरसाइकलबाट उत्रिएर आकाशसँग टाउको ठोक्काउँदै साथी राजन घिमिरे चिच्याए।

हात ठड्याएर फोटोको लागि पोज दिँदै उनी रमाइरहेका थिए।

नरमाउनु पनि कसरी?
०००

सबैको पालो सकिएपछि आ–आफ्नो बाइकमा बस्दै गर्दा संखुवासभाबाट मुस्ताङ यात्राका लागि दशैं टिकाको दिनमै काठमाडौं आइपुगेका राजेन्द्र पोखरेलले प्रश्न गरे।

‘खोइ त, तपाईंले बोकेको झोला?’, मैले पछाडि छामें। ‘ला, झोला त छैन त!’

अब पर्‍यो फसाद!

करिब आधा घण्टा अघि फोटो खिचेको ठाउँमा छोडिएछ! (काठमाडौंबाट बागलुङ बजार पुगेपछि हामीले दुई जनाको एकै झोला बनाएका थियौं।) दुई जनाको कपडा, लेक लाग्दा खाने औषधिसहितको सामान हराउने भयो।

सबैको अनुहारमा नराम्रो भाव देख्न सकिन्थ्यो।

‘अब भेटिन्छ होला र?’, साथी लोकराज निउरेले झोला भेटिने सम्भावनामा प्रश्न उठाए।
जे भएपनि जानु त पर्‍यो।

मुस्ताङबाट उकालो लाग्दै गरेका गाडी र बाइकलाई रोकेर झोला सोध्ने काम भयो।

कसैले देखेको जवाफ दिएनन्।

राजनले बाइक मोडे।

‘बस्नुस् सर। झोला छोड्न हुन्थेन, अब हामी नै त जानु पर्‍यो’, उनले भने।

झण्डै २० मिनेट कुदियो।

एउटा समस्या पर्‍यो।

हरेक मोड उस्तै।
सबैतिर ठूला चट्टाने रातो पहरा चिरेर सडक बनाइएको छ।

‘अब भेटिँदैन, धेरै तल आइयो, जाउँ होला’, राजनले भने।

आफैंले बोकेको साथी आभाषको झोला छुटाएकोमा नमज्जा लागिरहेको मैले अलिक तलसम्म जान आग्रह गरें।

त्यसो भनेको दुई मोड तल सडकको किनारामा सेतो झोला देखियो।

‘आहा!’, मैले बडो आनन्द महसुस गरें।

उत्साही हुँदै फर्कियौं हामी।

झोला भेटेकोमा आभाष र राजेन्द्र निकै खुसी भए। किनकी, झोलामा सामान उनीहरुको थियो।

झोला हराउँदा कोरला पुग्ने हामीहरुको योजनामा धक्का लाग्ने सम्भावना बढेको थियो।

त्यस भन्दा माथि बजार थिएन, कपडा सबै झोलामा।

‘कोरलामा नाकबाट निस्किएको सिंगान नि जम्छ है सरहरु, अलि बाक्लो लुगा लगार जानू’, माथि (कोरला) बाट झरेकाहरुले बाटोमा हामीलाई सुझाव दिइसकेका थिए।

अब झोलै हराएपछि त समस्या हुने नै भो। धन्न भेटियो।

०००
झोला भेटिएपछि यात्रा फेरि उचाइतर्फ लाग्यो।

हरेक पहाडको उचाइमा पुग्यो, अनि फेरि सबैभन्दा तल झर्‍यो।

हामी त्यस्ता कयौं राता डाँडा झर्‍यौं र चढ्यौं।

कतै उच्च पहाडका टुप्पामा ढुंगा अड्किएको देखिन्थ्यो।

हरियो हेर्न मोबाइलमा भएका बनजंगलका फोटो हेर्नुको विकल्प थिएन।

छुसाङबाट माथि लागेपछि राता पोथ्रा खालका बुट्यानबाहेक देख्ने कल्पना तपाईंहरु जानु भयो भने पनि नगर्नुहोला।
लोमन्थाङ पुग्दा झण्डै २ बजेको थियो।

मुस्ताङको उचाइमा रहेको अन्तिम ठूलो बजार रहेछ, लोमन्थाङ।

एक होटलमा खाना खाएपछि हामी नाकातर्फ अघि बढ्यौं।

जोमसोमबाट नै सडक कच्ची भए पनि राम्रो थियो।

लोमन्थाङबाट करिब ३० किलोमिटर यात्रा गर्दा नाकामा पुगिने त्यहाँका स्थानीयले बताएपछि हामीले त्यही दिन नाका पुग्न सक्ने निष्कर्ष निकाल्यौं।

बाटो कच्ची तर खासै अफ्टेरो भने थिएन।

गति बढाएकै थियौं। किनकी चाँडै अध्यारो हुने समय भएकाले उज्यालो प्रकाश छँदै नाका पुग्नु थियो।
छोसेरस्थित सीमा सुरक्षा पोस्ट पुग्नु अघि एउटा खोला तर्नुपर्ने रहेछ।

१ सय मिटर जति खोला तर्नु पर्ने। खुट्टा जम्ने चिसो पानी।

नाका पुगेर फर्किएका चारवटा बाइक खोला तरेर रोकिएका थिए।

त्यसमध्ये एक जना मोजा निचोरिरहेका थिए।

‘गाह्रो छ कि क्या हो?’, लोकराज निउरेले माथिबाट झरेकालाई सोधे।

‘अँ, अलि अफ्ठ्यारै छ। मिलाएर जानु भएन भने लड्छ’, बाइकमा बसेका युवकले जवाफ दिए।

उनीहरुका चार मोटरसाइकलमध्ये दुईवटा खोला तर्नेक्रममा बीचमै लडे रे!

‘ओहो! खुट्टा जम्ने चिसो छ’, लड्नेमध्येका एक जनाले पाइन्ट निचोर्दै भने।

बाइक चालक साथीहरु डराउँदै पारी तर्न खोज्दै थिए।

आफू त्यतिबेला पछाडि बसेकाले बाइक तार्ने तनावबाट मुक्त भएकोमा खुसी लागिरहेको थियो।

साथी राजनले जुत्ता जोगाउने उपाय निकाले।

जुत्ता र मोजा खोलेर मेरो हातमा थमाउँदै भने, ‘भिज्छ, तपाई पारी लिएर आउँनु, म त नलगाई चलाउँछु।’

पाइन्ट माथि सारेर खुट्टा टेक्दै उनले बाइक तारे।

विजयी भागमा पारी पुगेर यताबाट आउनुस् भन्दै सिकाइरहेका थिए, उनी।

लोकराज खोलामा पसे।

बाइक लड्ला जस्तै भएको थियो। खुट्टा चोपलेर बाइक जोगाए। तर, जुत्ता भिज्नबाट जोगिएन। त्यस्तै अवस्था प्रशान्त ओझाको बन्यो।

अन्तिममा तार्ने पालो साथी आभाषको आयो।

यसअघिका बाइक नलडे पनि असहजसँग लगेका कारण माथिबाट झरेका साथीले नयाँ बाटो देखाए।

उनीहरुले भने अनुसारको रुटमा आभाष एक्सिलेटर बटार्दै अघि बढे।

खोलाको बीचमा पुगेर उनको बाइक एउटा ढुंगामा अड्कियो। बाइकसँगै उनी खोलामा झरे।

उनको घुँडासम्म पानी पुग्यो।

अब बाइक उठाउन जानु पर्ने भयो।

पारी तरेका प्रशान्त ओझा खोलामा बाइक उठाउन कुदे।

त्यो दृश्य गगनले वारी बसेर भिडियोमा कैद गरिरहेका रहेछन्। (लडेको भिडियो टिकटकमा अपलोड गर्दा धेरै भ्यूज आएकोमा साथी आभाष अहिले भने खुसी छन्।)

भिजेका कपडा निचरनाचर पारेपछि हाम्रो यात्रा अघि बढ्यो।

केही किलोमिटर यात्रा गरेपछि छोसेरस्थित सीमा सुरक्षा पोस्ट पुगिने रहेछ।

हामी पुग्नासाथ नेपाल प्रहरीका एक जवान नजिक आए।

सिजनमा दिनमा केही टोली मात्र त्यहाँ पुग्ने रहेछन्।

हामीलाई रोक्दै उनले सोधे।

‘कहाँ पुग्ने?’

‘नाकामा’, साथी प्रशान्तले जवाफ दिए। उनले चेकपोस्ट तर्फ देखाउँदै दर्ता गर्न भने।

एक जनाको लाइसेन्स र बाइक नम्बर अनि टिम सदस्यको नाम दर्ता गर्न बसेका सशस्त्र प्रहरीका एक जवानले इन्ट्री गरे।

दर्ताको काम चलिरहँदा अर्का साथी प्रहरीसँग सीमामा पुग्न लाग्ने समय, त्यहाँ चौकीमा बस्दाका समस्याबारे उनीसँग कुरा गरिरहेका थिए।

‘प्रहरी मेरो साथी’ भन्ने नारा त्यहाँ चरितार्थ देखियो, काठमाडौंमा भन्दा।

उनले हामीलाई मित्रवत् व्यवहार गरे। चाँडै पुग्न सल्लाह दिए। साँझ परेपछि फोटो नआउने बताउँदै उनले हामीलाई बिदा गरे।

‘बाटो राम्रै छ, १३ किलोमिटर हो। अलि उकालो छ, गाडीले तान्दैन विस्तारै जानुहोला’, भन्दै उनले विदा गरेपछि हामी उकालो लाग्यौं।

नभन्दै बाइकले तानेन। धेरै उकालो नभएको ठाउँमा पनि बाइकको गति कम भइरहेको थियो।

उचाइमा पुगेपछि मेसिनरी चिजलाई पनि समस्या पर्ने रहेछ।

हावा यति जोडसँग चलेको थियो कि बलियोसँग बाइक नसमाए समस्या आउन सक्ने रहेछ। केही उचाइ चढेपछि हिमाल निकै नजिक आइपुग्यो। तर, दक्षिण तर्फ।

नेपालको उत्तरी क्षेत्रमा हिमालहरु पर्छन्। तर, मनाङ र मुस्ताङ हिमाल पारीका जिल्ला भएकाले त्यता पुगेपछि हिमाल दक्षिण तिर पर्ने रहेछ।

हिमालको फोटो कैद गर्न हामी रोकियौं।

उभिएर हेर्दा थाहा भयो। हिमाल हामी उभिएको उचाइबाट तल देखिने रहेछ।

दशगजामा पुग्दा

उचाइमा समथर फाँट जस्तो परेको क्षेत्रमा हामीले गति बढायौं।

चौर जस्तो भूभागमा पर एउटा ठूलो भवन देखियो।

‘नेपाल २४
२०१६’

लेखिएको सीमा स्तम्भ नजिक पुगेपछि हामी रोकियौं।

सीमा स्तम्भसँगै दशगजा क्षेत्र थियो भने त्यसभन्दा केही पर भब्य घर थियो। भवनको अगाडि चीनको झण्डा फहराइरहेको थियो।

बुझ्न गाह्रो थिएन। त्यो चीनको सीमा नाका कार्यालय रहेछ।

‘अनि खोइ त नेपालको अफिस?’नजिकै रहेका प्रेमलाई सोधें।

‘अनि अघि १३ किलोमिटर तल हामीले नाम दर्ता गराएको क्या हो त?’, उसले जवाफ दियो।
हामी सबै अचम्ममा पर्यौ।

उनले त्यसो भनिरहँदा चिनियाँ कार्यालयतर्फ केही सुरक्षाकर्मी आएर हाम्रा गतिविधि नियालिरहेका थिए।

हामीले ‘हेडसर’ ले भनेको सम्झियौं।

‘कोरला पुग्नुस् न पहिला, कस्तो मन रुन्छ!’

उनी सत्य रहेछन्।

हामीले नरमाइलो महसुस गर्‍यौं।

‘देशको सीमा नाकामा एउटा कार्यालय राख्न नसक्ने अवस्थामा छौं त हामी?’ हामीलाई चिच्याउन मन थियो। तर, के काम? कसले सुन्ने?

करोडौंका भ्रष्टाचारका समाचार लेख्दै आएका हामीले नेतालाई धारे हात लगाउनु पर्ने अवस्था बन्यो।
जुन उत्साह थियो, त्यो एकाएक कोरलाको चिसोको चपेटामा परेको जस्तो भयो।

‘अनि सीमा मिचियो भनेर किन कराउनु त?’, किमाथांका नाका नजिकाबाट कोरला पुगेका राजेन्द्रले आक्रोश पोखे।

हुन पनि हो।

‘नेपालको चौकी १३ किलोमिटर तल भएपछि त यो समथर ठाउँमा त जे गरे नि भयो’, गगनले थप आक्रोश पोखे।

चीनतर्फ भव्य भवनसँगै चिल्लो टल्किएको कालोपत्रे सडक थियो।

धेरै जसो समय हिँउले ढाकिने ठाउँमा चीनले त्यस अनुसारको पोस्ट बनाएको छ। नेपाल तर्फ रहेको सीमा पोस्ट हिँउ धेरै पर्न थालेपछि सो स्थान छाडेर अझै तल झर्नुपर्ने अवस्था छ।

चीनले आफ्नो तर्फ काँडेतार लगाएको छ, नेपालको यस्तो हालत। सबैको अनुहारमा निराशा छाएको थियो।

‘तारै लगाएको रहेछ, मिच्दैन होला’ भन्दै आत्मसन्तुष्टि पोख्नु बाहेक हामीसँग विकल्प थिएन।
हामीले सीमास्तम्भ नजिक उभिएर केही थान फोटो खिच्यौं।

‘नेपालको झण्डा भएको भए’, साथी आभाषले राष्ट्रियता प्रदर्शन गरे।

त्यही भएर त बाइकमा झण्डा हालेर मानिसहरु आएका रहेछन्। हामीले बाटोमा गफ हुँदा बाइकमा झण्डा राख्नेहरुलाई ‘फेसबुके राष्ट्रियता’ भन्दै टिप्पणी गरेका थियौं।

त्यहाँ पुगेपछि लाग्यो। ‘ठूलो सूर्य र चन्द्र अंकित झण्डा ल्याएर फहराउँदै उनीहरु (चिनियाँ) लाई देख्यौ, हामी हाम्रो भूमिको रक्षाका लागि आउँछौं भन्न पाइने रहेछ’, साथी लोकराजले भने।

हावा जोडले चलिरहेको थियो।

हामीले केहीबेर नेपाली शासकहरुलाई गाली गरेर मन शान्त पार्‍यौं।

देशभित्रको राजनीतिमा कुर्सीका लागि लडाइँ गर्ने नेताले कहिल्यै कूटनीति र सीमा समस्यालाई प्राथमिकतामा नराखेकोमा आक्रोश पोख्यौं।

‘हेडसर’ले भनेजस्तै मन रुवाउँदै हाम्रो टोली केहीबेर नाकामा बसेर ओरालो लाग्यो।

  • २० फागुन २०७८, शुक्रबार १४:४४ मा प्रकाशित
  • Nabintech