९ असाेज २०७९, आईतबार
चार महिनापछि आजदेखि बस्दै संवैधानिक इजलास, सुनुवाइको पर्खाइमा चार सय मुद्दा
  • मध्यमार्ग

चार महिनाभन्दा लामो समयसम्म बस्न नसकेको संवैधानिक इजाल शुक्रबारदेखि बस्ने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि न्यायिक विचलनको आरोप लगाउँदै सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलास बहिस्कार गरेपछि बस्न नसकेको संवैधानिक इजलास शुक्रबारदेखि सुरु हुने भएको हो।

कात्तिक ८ गतेदेखि सुरु भएको आन्दोलनका कारण संवैधानिक सुनुवाइ प्रभावित भएको थियो। अन्तिमपटक संवैधानिक इजलासले केपी शर्मा ओलीले गरेको ५२ संवैधानिक निकायको नियुक्तिविरुद्धको रिटमा लिखित जवाफ माग गर्ने आदेश गरेको थियो।

ओली नेतृत्वको सरकारले गरेको विघटन बदर गरेपछि संवैधानिक इजलास धेरै विवादित भएको थियो भने प्रधानन्यायाधीश राणा पनि एकपछि अर्को विवादमा परेका थिए। चौतर्फी विरोध र विवादपछि मंसिर २ गते सर्वोच्चको फुलकोर्टले मंसिर १५ गतेदेखि गोला प्रथाद्वारा पेसी तोकेर सुनुवाइ गर्ने निर्णय गरेको थियो। तर, सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश राणासँग इजलास सेयर नगर्ने निर्णय गरे।

यसपछि संवैधानिक इजलास बस्ने सम्भावना समाप्त भयो। फागुन १ गते सत्तारुढ दलहरुले राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उनी निलम्बित भए। सर्वोच्चको नेतृत्वमा (कामु प्रधानन्यायाधीश) वरिष्ठ न्यायाधीश दीपककुमार कार्की आए। उनले कामु प्रधानन्यायाधीशको जिम्मेवारी लिएपछि पहिलोपटक संवैधानिक इजलासको नेतृत्व गर्न लागेका हुन्।

कमु प्रधानन्यायाधीश कार्कीले संवैधानिक इजलासमा पेसी तोक्न मुद्दा फाँटमा निर्देशन दिएसँगै संवैधानिक प्रश्नसँग जोडिएका ४ सयभन्दा धेरै मुद्दा सुनुवाइमा जानेछन्।

  • २० फागुन २०७८, शुक्रबार १०:३५ मा प्रकाशित
  • Nabintech