९ असाेज २०७९, आईतबार
सेयरबजार सुधार्न अर्थमन्त्रीको ११ बुँदे निर्देशन
  • मध्यमार्ग

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजार सुधारका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुखहरूलाई निर्देशन दिएका छन्। बुधबार अर्थमन्त्रालयमा आयोजित बधाई कार्यक्रममा मन्त्री शर्माले उक्त निर्देशन दिएका हुन्। उनले दुवै निकायका प्रमुखलाई कसैको दबाब र प्रभावमा परेर काम नगर्न निर्देशन दिए।

उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पुँजीबजारबाट आउने बातावरण सिर्जना गर्न, पुँजीबजारको समस्या समाधान गर्न र सर्वसाधारणको लगानीको सुरक्षा गर्न उनले आग्रह गरे। अर्थमन्त्री शर्माले पुँजीबजारमा राजनीति नगर्न पनि आग्रह गरे।

अर्थ मन्त्रालयले खुल्ला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको थियो।

यस्तो छ अर्थमन्त्रीको ११ बुँदे निर्देशन

  • १) कोभिड-१९ को महामारीबीच पुँजीबजारलाई लगानीकर्तामैत्री बनाउने गरी नेपालको पुँजीबजारलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छिमेकी मुलुकहरू भारत, चीन, पाकिस्तान, बंगलादेश, अमेरिका, बेलायतमा कसरी पुँजीबजार सञ्चालन भएको छ भन्ने अध्ययन गर्ने।
  • २) पुँजीबजारबाट कसरी पुँजी निर्माण गर्न सक्छौं? कसरी लगानीकर्तालाई उच्चतम प्रतिफल प्रदान गर्न सक्छौं र राष्ट्रिय महत्त्वका आयोजनाहरूमा आवश्यक लगानी कसरी व्यवस्था गर्न सक्छौं भनेर अध्ययन गर्नुपर्नेछ। ठूला पुर्वाधार, उत्पादन, पुँजी निर्माणका लागि पुँजी संकलन गर्ने व्यवस्था मिलाउने।
  • ३) २० कात्तिक ०७५ देखि नयाँ टीएमएस भित्रिएको छ। यसले केही सहजता ल्याए पनि अझै प्रयोगकर्तामैत्री छैन भन्ने गुनासो छ। यस्ता गुनासो समाधान गर्नुपर्नेछ।
  • ४) लगानीकर्ता समान स्तरका नहुने हुँदा साना कम्पनी, स्टार्टअप कम्पनीहरूलाई पनि पुँजीबजारमा प्रवेश गर्ने बाटो खुल्ला हुनुपर्छ। विशेषगरी एसएमई तथा ओटीसी बजारको विकास गरी भेन्चर क्यापिटलसमेतको आधारमा साना कम्पनीहरूका लागि आवश्यक बजारको विकास गर्नुपर्छ।
  • ५) सूचीकरणमा आउन नसकेका तथा आईपीओको लागि योग्य भइ नसकेको विभिन्न पब्लिक लिमिटेड कम्पनीहरूको सेयरलाई ओटीसी बजार विकास गरी कारोबार गर्ने व्यवस्था मिलाउने। आउँदा दिनमा इन्ट्रा डे कारोबार र सर्ट सेलिङ गर्न मिल्ने गरी प्रणालीको सुधार गर्ने।
  • ६) अटोमेसन अक्सन सुरु गर्ने। अक्सन बजार लिलामीबाट सुरुमा बिक्री हुन नसकेका सेयर र खरिद बिक्री हुन नसकेका कारोबारको देशभर सबै लगानीकर्ताले खरिद गर्न पाउने व्यवस्था मिलाउने।
  • ७) ब्रोकरलाई सक्षम बनाउन ‘सब-ब्रोकर’ मोडल तयार गर्ने। डेरिभेटिभ्स औजार बनाइ कारोबार गर्ने। कमोटिभी एक्सचेन्ज सम्बन्धी ऐनलाई अगाडि बढाउने। यो ऐन बनेको ४ वर्ष भयो।
  • ८) अर्थतन्त्रको प्रतिनिधित्व गर्ने वैज्ञानिक तवरले निर्माण गरिएको नयाँ परिसूचक तयार गर्ने। भारतमा बम्बई स्टक एक्सचेन्ज, अमेरिकाको डाउजोनस तथा नासडाक जस्ता परिसूचक निर्माण भएका छन्। त्यसबाट शिक्षा लिने। मार्केट क्यापका आधारमा लार्ज क्याप इण्डेक्स, मिड क्याप इण्डेक्स र स्मल क्याप इण्डेक्स बनाइ बजार परिसूचकलाई थप व्यवस्थित गर्ने।
  • ९) उत्पादनमूलक धेरै कम्पनीहरू सेयर मार्केटभन्दा बाहिर रहेकाले सेयर बजारमा ल्याउन बुक बिल्डिङ प्रणाली लागू गर्ने। इण्डेक्स फण्ड तथा ट्रेडेट फण्डको सुरुआत गर्ने।
  • १०) ब्रोकरलाई मार्जिन ल्याण्डिङ दिने कुरा लागू गर्ने। ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकिङ संस्थाहरूमार्फत् मार्जिन ल्याण्डिङ प्रक्रिया अगाडि बढाउने।
  • ११) सर्कुलर कारोबार, पम्प एड डम्प र इनसाइडर ट्रेडिङ रोक्ने। पुँजीबजारसम्बन्धी जनचेतना, पुँजीबजार साक्षरताको सञ्‍चालन, तालिम केन्द्रको स्थापना गर्ने।
  • १९ फागुन २०७८, बिहीबार ०९:२६ मा प्रकाशित
  • Nabintech