२० असाेज २०७९, बिहीबार
पसल तोडफोड गरेर १६ लाख बराबरका मोबाइल चोरी गर्ने दुई जना पक्राउ
  • मध्यमार्ग

रातको समयमा मोबाइल पसल फुटाई चोरी गर्ने दुई जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा गोरखाको गण्डकी नगरपालिका–५ घर भई बूढानीलकण्ठ बस्दै आएका २४ वर्षीय सुरेश गिरी र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ घर भई बूढानीलकण्ठ नै बस्दै आएका २२ वर्षीय गणेश क्षेत्री छन्।

उनीहरुले गत माघ १८ गते राति काठमाडौं विशालनगरस्थित सुरज इलोक्ट्रोनिक्स मोबाइल पसलबाट मोबाइल चोरी गरेका थिए। पसलको पछाडिको झ्याल फुटाई विभिन्न कम्पनीका नयाँ ३७ थान मोबाइल उनीहरुले चोरी गरेको प्रहरीले जनाएको छ।

त्यसैगरी मर्मतका लागि राखिएका मोबाइल १५ थान, गितार १ थान तथा स्मार्ट घडी २५ थान गरी अन्दाजी १६ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको सामान चोरी गरेको महाशाखाका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए।

चोरी भएकामध्ये उनीहरुबाट सिलप्याक ८ थान मोबाइल, पुराना मोबाइल ५ थान, स्मार्ट घडी ६ थान, गितार १ थान र पावर बैंक १ थान बरामद भएको छ। उक्त सामानसहित उनीहरुलाई कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ।

  • १९ फागुन २०७८, बिहीबार ०८:०५ मा प्रकाशित
  • Nabintech