९ असाेज २०७९, आईतबार
विश्व वरीयतामा कुशल र सन्दीपको फड्को
  • मध्यमार्ग

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी२० आई विश्व वरीयतामा इंग्ल्यान्डका जोनी बेयरस्टो र न्यूजिल्यान्डका केन विलियम्सन पछि पारेका छन्।

बुधबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा कुशल ब्याटिङतर्फ ३१औं स्थानमा उक्लिएका छन्। यसअघि उनी ३९औं स्थानमा थिए।

कुशलभन्दा पछि इंग्ल्यान्डका जोनी बेयरस्टो र न्यूजिल्यान्डका केन विलियम्सन छन्। वरीयतामा बेयरस्टो ३७औं र विलियम्सन ४४औं स्थानमा छन्।

यता, दीपेन्द्रसिंह ऐरी भने ५०औं स्थानमा यथावत् छन्। दीपेन्द्रले चार देश सम्मिलित टी२० आई सिरिज र टी२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

दीपेन्द्रले ओमानमा सम्पन्न चार देश सम्मिलित टी२० आई सिरिजमा ओमानसँगको खेलमा ७३ रनको अविजित इनिङ्स खेलेका थिए।

यता, युएईसँग ४१ र आयरल्यान्डसँग २८ रन बनाउनुको साथै ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए।

विश्वकप छनोटका खेलमा फिलिपिन्ससँग ८३, क्यानडासँग २७ र युएईविरुद्ध ३८ रन जोडेका थिए। यता, कुशलले फिलिपिन्सविरुद्ध १ सय ४ रनको शतकीय इनिङ्स खेलेका थिए। यता,क्यानडाविरुद्ध ३४ रन जोडेका थिए।

टी२० आईको बलिङतर्फ कप्तान सन्दीप लामिछानेले पनि छलाङ मारेका छन्। सन्दीप पनि ३६औं स्थानमा छन्। उनी यसअघि ४३औं स्थानमा थिए।

यस्तै, तीव्र गतिका बलर अभिनाश बोहरा ८२औं स्थानमा छन्। यसअघि उनी ८६औं स्थानमा थिए। सन्दीपले विश्वकप छनोटमा ओमानविरुद्ध २, क्यानडा र फिलिपिन्ससँग ३-३ विकेट लिएका थिए।

अभिनाशले सिरिजमा ओमानसँग ३ र आयरल्यान्डसँग २ विकेट लिएका थिए। क्यानडासँग २ र युएईसँग ३ विकेट लिएका थिए। टी२०आई वरीयतामा भने नेपाल १३औं स्थानमा छ। यस्तै, ओडीआईमा १६औं स्थानमा छ।

  • १८ फागुन २०७८, बुधबार २१:१५ मा प्रकाशित
  • Nabintech