परमाणु हतियारको संख्याको आँकडा अनुमान मात्रै हुन्छन् तर फेडरेशन अफ अमेरिकन साइन्टिस्ट नामक संस्थाका अनुसार रुससँग ५,९७७ परमाणु हतियार छन् । यीमध्ये १५०० म्याद गुज्रने अवस्थामा छन् वा पुरानो भएका कारण यसलाई छिट्टै ध्वस्त पारिनेछ ।
बाँकी ४,५०० हतियारलाई स्ट्रेटेजिक न्युक्लियर वेपन (रणनीतिक परमाणु हतियार) मानिन्छ । यसमा ब्यालेस्टिक मिसाइल र रकेट्स पनि समावेश छन् जसले लामो दुरीसम्म मार हान्न सक्छन् । यिनै हतियार हुन् जसलाई परमाणु युद्धसँग जोडेर हेरिन्छ ।
अन्य हतियार निकै साना र कम क्षती गर्ने खालका हुन्छन् जसको प्रयोग जमिन वा पानीबाट कम दुरीको लक्ष्यका लागि गर्न सकिन्छ ।
तर यसको अर्थ यो होइन कि रुससँग लामो दुरीसम्म क्षती गर्न सक्ने हज्जारौँ परमाणु हतियार छन् जुन कुनै पनि बेला दाग्न सकिनेछन् ।
विश्लेषकको अनुमानका अनुसार रुसले करिब १५ सय परमाणु हतियार तैनाथ गरेको छ । यसको अर्थ यो हो कि यति हतियार मिसाइल र एयर फोर्सको अड्डा वा पनडुब्बीमा तैनाथ गरिएका छन् ।
अन्य दुनियाँको तुलनामा कहाँ छ रुस:

संसारभरीका ९ देश – चीन, फ्रान्स, भारत, इजराइल, उत्तर कोरिया, पाकिस्तान, रुस, अमेरिका र ब्रिटेनसँग परमाणु हतियार छन् ।
चीन, फ्रान्स, रुस, अमेरिका र ब्रिटेन ती १९१ देशमा समावेश छन् जसले परमाणु अप्रसार सन्धिमा हस्ताक्षर गरेका छन् ।
यो सन्धि अन्तर्गत उनीहरुले आफ्नो आणविक हतियार भण्डारण घटाउन र सैद्धान्तिक रुपमा यसलाई पूर्ण रुपमा समाप्त गर्नुपर्छ ।
सन् १९७० र १९८० को दशकमा यी देशले आफ्नो हतियारको संख्यामा ठूलो कटौती गरेको छ ।
भारत, इजराइल र पाकिस्तानले कहिल्यै पनि यो सन्धिमा हस्ताक्षर गरेनन् । उत्तर कोरियाले सन् २००३ मा आफूलाई यो सन्धिबाट अलग पारेको थियो ।
विश्वका ९ परमाणु शक्तिमध्ये इजराइलमात्रै एउटा यस्तो देश हो जसले अहिलेसम्म औपचारिक रुपमा आफूसँग परमाणु हतियार भएको कुरा बताएको छैन ।
तर उसँग परमाणु हतियार भएको मान्यता राखिन्छ ।
युक्रेनसँग कुनै पनि परमाणु हतियार छैन । रुसी राष्ट्रपति पुटिनको आरोप पछि पनि आजसम्म युक्रेनले परमाणु हतियार जुटाउने प्रयास गरिरहेको छ भन्ने कुराको कुनै प्रमाण भेटिएको छैन ।

परमाणु हतियारले कति क्षती ?
परमाणु हतियारको उद्देश्य नै भयानक विध्वंश हो । तर विध्वंशको स्तर तल उल्लेखित चिजमा निर्भर हुन्छः
– परमाणु हतियारको आकार
– जमिनभन्दा कति माथि यसको बिस्फोट भयो
– स्थानीय वातावरण

तर सानोभन्दा सानो परमाणु हतियारले ठूलो संख्यामा मानिसको ज्यान लिनसक्छ र आउँदो पिढीमा पनि यसको असर पर्नसक्छ ।
दोस्रो विश्वयुद्धका बेला जापानको हिरोशिमामा खसालिएको अमेरिकाको परमाणु बम १५ किलोटनको थियो ।
आजकालका परमाणु बम एक हजार किलोटनसम्मको हुनसक्छन् ।
यति ठूला परमाणु हतियारको प्रयोगपछि बिस्फोट हुँदा वरिपरि केही पनि बाँकी रहनेछैन ।
परमाणु बिस्फोटका बेला एउटा चम्किलो प्रकाशपछि एउटा आगोको गोला निस्कन्छ जसले आसपास थुप्रै किलोमिटरसम्म भवन र अन्य संरचनालाई ध्वस्त पारिदिन्छ । –बीबीसी
१८ फागुन २०७८, बुधबार १९:४७ मा प्रकाशित