बलात्कारको आरोप लागेका नेकपा (एमाले)का नेता तथा मुगुका प्रतिनिधि सभा सदस्य मोहन बानियाँलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
बुधबार बाँके जिल्ला अदालतले सांसद् बानियाँलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो। प्रहरीले सोमबार उनलाई बाँकेस्थित राँझा विमानस्थलबाट पक्राउ गरेको थियो।
प्रतिनिधि सभा सदस्य बानियाँले आफूलाई नेपालगञ्जको होटलमा बलात्कार गरेको दाबी गर्दै जुम्लाकी एक शिक्षिकाले बाँके प्रहरीमा जाहेरी दिएकी थिइन्।
महिलाको जाहेरीपछि जिल्ला अदालत बाँकेले बानियाँविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। मुगु स्थायी ठेगाना भएका सांसद बानियाँ एमालेका समानुपातिकतर्फका सांसद हुन्।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बानियाँ बिनाविभागीय मन्त्री बनाइएका थिए।
१८ फागुन २०७८, बुधबार १८:४९ मा प्रकाशित