२० असाेज २०७९, बिहीबार
विशेष अदालतको अध्यक्ष नियुक्त भए श्रीकान्त पौडेल
  • मध्यमार्ग

सरकारले विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेललाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त विशेष अदालतको अध्यक्ष र सदस्यमा न्याय परिषद्ले गरेको सिफारिसलाई अनुमोदन गरेको हो।

गत बुधबार बसेको परिषद्को बैठकले विशेष अदालतको अध्यक्षका लागि पौडेल र सदस्यका लागि ५ जना गरी उच्च अदालतका ६ जना न्यायाधीशको नाम सरकारलाई सिफारिस गरेको थियो।

विशेष अदालतको अध्यक्षका लागि उच्च अदालत पाटनमा दरबन्दी भइ हाल उच्च अदालत पोखराको बागलुङ इजलासमा रहेका न्यायाधी पौडेललाई नियुक्त गर्न सिफारिस गरिएको थियो।

यस्तै, सदस्यका लागि उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश रमेशकुमार पोखरेल, उच्च अदालत विराटनगरका न्यायाधीश यमुना भट्टराई, उच्च अदालत पोखराको बागलुङ इजलासका न्यायाधीश शालिग्राम कोइराला, उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बलभद्र बास्तोला र उच्च अदालत पाटनका न्यायाधीश खुसी प्रसाद थारुको नाम सिफारिस गरिएको थियो।

सरकारले परिषद्को सिफारिसमा राजस्व न्यायाधीकरण काठमाडौंको कानुन सदस्य एवम् अध्यक्ष पदमा हाल उच्च अदालत पाटनका न्यायाधीश टेक प्रसाद ढुंगानालाई नियुक्त गरेको छ। लामो समयदेखि उक्त स्थान रिक्त थियो।

  • १८ फागुन २०७८, बुधबार १७:५९ मा प्रकाशित
  • Nabintech