९ असाेज २०७९, आईतबार
नाङ्गा बाबाको यौनाङ्गमा भाग्य खोज्ने भक्त
  • एसपी उप्रेती

महाशिवरात्रीमा केही विशेष कुराहरुको स्मरण हुने गर्दछ । गाँजा, भांग धतुरो र नाङ्गा बाबा । यसै दिनका लागि भारतबाट हजारौँ बाबाहरु नेपाल आउने गर्दछन् । पशुपतिनाथको परिसरमा रहेर आफ्ना विभिन्न हर्कतहरु देखाएर मनग्गे आम्दानी गरेर फर्कन्छन् ।

आज मात्रै पण्डित दीनबन्धु पोखेरेलको एउटा आलेख पढेको थिएँ । त्यहाँ के उल्लेख थियो भने मानिसहरुले आफूलाई लागुपदार्थ सेवन गर्न मन लागेर शिवजीको नाममा भांग, धतुरो र गाँजा सेवन गर्न थालिएको हो ।

उनको आलेखमा कुनै पनि पुराण वा शास्त्रमा शिवजीको सम्बन्ध गाँजासँग उल्लेख नगरिएको भन्ने स्पष्ट हुन्छ । तर मानिसहरुले आफ्नो अनुकूल बनाउन शिवजीको नाम लिएको हुन् ।

हुन त म आफैँमा शास्त्र वा वेदका केही ज्ञान छैन । तर व्यवहारिक पाटोलाई ध्यानमा राखेर स्वतन्त्र विश्लेषण भने गर्न पक्कै सकिन्छ ।

मेरो जीवनमा मैले पहिलोपटक पशुपतिनाथभित्रै गएर शिवरात्रीको दिन दर्शन गरेको हुँ । अरुले वर्णन गरेको म सुन्नेँ गर्थेँ कि नाङ्गा बाबा हुन्छन् । साँच्चै निर्वस्त्र हुन्छन् त ? म आश्चर्यले सोध्ने गर्थेँ । आज देखेँ । मलाई सर्वप्रथम निर्वस्त्र देख्दा घिन महसुस भयो । यो सत्य हो कि हामी नाङ्गै आएको हौँ र नाङ्गै जान्छौ । यद्यपि निर्वस्त्र भएर व्यवहारिक पाटोलाई घिनलाग्दो बनाउनु उचित नहुने म आफूलाई चाँहि त्यस्तो लाग्यो ।

त्यस्तै अर्को कुरा जसले शिवजी नाङ्गै बस्थे भन्ने कुरा गर्छन् । शिवजीका अन्य गुण चाँहि उति धेरै भनेको सुनिदैन । आदियोगीका रुपमा रहेका शिवजीले जीवन र जगतलाई व्यवहारिक र अध्यात्मिक रुपमा सफल बनाउने ध्यान, साधना एवम् ज्ञानका कुरा गरेका छन् । तर अहिलेको नाङ्गा बाबारुपीहरुले शिवजीका अन्य गुण कतिको लागु गरेका छन् त आफ्नै जीवनमा भन्ने मूल विषय हो ।

गाँजा खाएर लठ्ठ बन्नु, जथाभावी बोल्नु, अत्यन्तै आशक्ति भएर केही माग्नु (पैसा विशेषगरी), अत्यन्तै क्रोधित हुने आदि सबै गुणहरु निकै धेरै देख्न पाइन्छ ति बाबाहरुमा । अनि के यी सबै गुणहरु उनीहरु पुजिन लायक गुणहरु हुन् ?

ति दृश्यहरुले मेरो मनमा पटक्कै खुशी दिएन । बलकी प्रश्नहरु उब्जाए । जस्तै, जो आफ्नो अलिकति पनि क्रोध नियन्त्रण गर्न सकेको छैन । जो आफैँ अत्यन्तै आशा अपेक्षा गर्छ ।

मेरै आँखा अगाडी एक दम्पती नाङ्गा बाबाका अगाडी आए । ति बाबाले आफ्नो लिंगमा घण्टी झुण्ड्याएका थिए । पत्नीले त्यो घण्टी सोखले बजाइन् । श्रीमानले पनि गर्नुपर्ने कर्तव्य गरे । ति बाबाले घण्टी बजाउन संकेत गरेजस्तो गरे । अनि पतिले पनि घण्टी बजाए । हेर्दा लाग्थ्यो दुवै जनाले केही संकल्पका लागि त्यो सब गरिरहेका छन् । उनीहरु गम्भीर रुपमा गरिरहेका थिए । निकै ठूलो विश्वास र आस्था देखिन्थ्यो । पत्नीले निकै आस्थाका साथ लिंगमा झुण्डिएको घण्टीमा ढोगिन् । यी सबै गरेर ति बाबालाई उनीहरुले केही रुपैयाँ दिए । म सबै दृश्य अचम्मित भएर ट्वाल्ल हेरिरहेका थिएँ । यो सबै मेरो पहिलोपटक थियो ।

ति दृश्यहरुले मेरो मनमा पटक्कै खुशी दिएन । बलकी प्रश्नहरु उब्जाए । जस्तै, जो आफ्नो अलिकति पनि क्रोध नियन्त्रण गर्न सकेको छैन । जो आफैँ अत्यन्तै आशा अपेक्षा गर्छ । जो कुनै वस्तु बिना जस्तै कि गाँजा आदि आफूलाई शान्त राख्न सक्दैन । आफैँ पीडित जस्तो व्यवहार देखिन्छ । अब मनमा प्रश्न आयो यस्ता मानिसहरु प्रतिको भरोसाले आफ्नो भाग्य बन्दो हो र ?

शास्त्रले किटेरै भेनेको तथ्य त आफैँमाथि भरोसा गर ईश्वर तिमी हौ भनेको होइन र ? त्यस्तै, यदि कोही साधनाबाट निपुण भएर जीवनलाई आमूल रुपान्तरण गरेका भए त केही न केही त व्यवहारमा देखिनुपर्ने होइन र ? यदि कसैको नांगो रुप हेरेरै मान्छेको जीवनमा सुखयल अमनचैन हुने भए त यहाँ कोही पनि दुःखी हुने थिएनन् नि होइन र ?

तसर्थ, आजको दुनियाँमा थोरै हामी व्यवहारिक र उन्नत किसिमले सोच्ने गरौँ । संस्कति, धर्म, परम्परालाई सम्मान छ । तर यसको नाममा गलत व्याख्या गर्दै नांगो लिंगलाई ढोगेर कसैको जीवन उकासिने छैन । कदापि पनि । अँ बरु श्रीमान श्रीमतीमा झगडा चाँहि हुनसक्छ ।

शिवजीको ज्ञान, ध्यान, तपस्याको हिमायती बनौँ । सकेको थोरै धेरै योग गरौँ । ध्यान गरौँ । जीवनमा ज्ञान भरौँ । सदावहार खुशी, सुखको आधार सदाकालका लागि यही नै हो । अन्यथा, अरु सबै कुराहरु पुनः दुःखकै कारण बन्न सक्छन् । आजको विशेष दिनमा हामी सबैले यो प्रसंगलाई मनन गर्न सकौँ । शिवजीको कृपा हामी सबैमा परिरहोस् ।

  • १७ फागुन २०७८, मंगलबार २१:४५ मा प्रकाशित
  • Nabintech