१७ असाेज २०७९, सोमबार
नारायणकाजीलाई भेट्न निवासमै पुगे प्रचण्ड, के भयो कुराकानी?
  • मध्यमार्ग

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई उनको निवास हात्तीवन पुगेर भेटेका छन्।

मंगलबार दिउँसो ४ बजे हात्तीवन पुगेका प्रचण्ड र श्रेष्ठबीच आधा घण्टा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ। दुई नेताबीच छलफल भएको विषय भने थाहा हुन सकेको छैन।

नारायणकाजी श्रेष्ठ एमसीसीलाई प्रतिनिधि सभाबाट पारित गर्ने कुराको विरोधी थिए। तर, प्रचण्डले व्याख्यात्मक टिप्पणीसहित पारित गर्न सहमति जनाएका थिए। सोही अनुसार आइतबारको प्रतिनिधि सभाले सो विषयलाई टुंगो लगाएको छ।

श्रेष्ठले सार्वजनिक रुपमै पार्टीको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। जसप्रति प्रचण्डले पनि असन्तुष्टि जनाएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले श्रेष्ठलाई सार्वजनिक रुपमा नबोल्न र आफ्नो कुरा केन्द्रीय कमिटीमा राख्न भनेको तर नमानेको बताएका थिए।

यता प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच मतभेद बढ्दै गएपछि प्रचण्डको सचिवालयले पार्टीभित्रको असहमति कमिटीभित्रै दर्ज गर्नु उपयुक्त हुने धारणा सार्वजनिक गरेको छ।

नेता श्रेष्ठले पार्टी विभाजन गर्ने संकेत गर्दै आफूनिकट नेताहरुसँग परामर्श सुरु गरेपछि प्रचण्डको सचिवालयका तर्फबाट यस्तो धारणा आएको हो।

पार्टीमा नेताहरुबीच कहिलेकाहीँ मुद्दागत वा विषयगत अस्पष्टता र असहमतिहरु हुने, तर ती विषय पद्दतिअनुरुप पार्टी कमिटीमा दर्ज गर्नुपर्ने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए।

  • १७ फागुन २०७८, मंगलबार १९:०४ मा प्रकाशित
  • Nabintech