महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि दर्शनार्थीहरुको भीड लागेको छ ।
महाशिवरात्रिको पूर्वसन्ध्या सोमबारदेखि नै निकै चहलपहल भएको मन्दिर प्रांगणमा मंगलबार बिहान ३ बजेदेखि दर्शन गर्न दिइएको पशुपति विकास कोषले जनाएको छ ।
मन्दिरको चारवटै ढोका खुला गरिएका छन्। पशुपतिको दर्शनका लागि जयबागेश्वरीतिरको गेटमा चाबहिल चोकभन्दा परबाट लाइन लागेको छ । त्यस्तै, गौशाला तिरको गेटमा पनि त्यत्तिकै लामो लाइनमा बसेर भक्तजनहरु दर्शनका लागि पर्खिरहेका छन् ।
गेटबाट भित्र प्रवेश गरिसकेपछि ३० मिनेटभित्र दर्शन गरिसकिने भक्तजनहरु बताउँछन् । बाहिरबाट भने करिब एकदेखि डेढ घण्टाको लाइन बसेर दर्शन गर्न पाइने बताइएको छ ।