९ असाेज २०७९, आईतबार
कोरोना महामारीमा आदिवासीका प्रथा, परम्परा र ज्ञानको प्रयोग
  • कुमार यात्रु

कोरोना महामारीको तेस्रो लहर जारी छ। पहिलो र दोस्रो लहरभन्दा पनि तेस्रो लहरका क्रममा छिटो संक्रमित हुने ओमिक्रोन भेरियन्टका कारण जनजीवन त्रस्त बनेकोमा अहिले केही सामान्य हुँदै गएको छ। तेस्रो लहरमा दैनिक ९ देखि १० हजार संक्रमित पुगेका थिए। यस क्रममा ठूलो संख्यामा स्वास्थ्यकर्मी आफैं संक्रमित भएपछि स्वास्थ्य सेवा प्रदायक संस्थाहरुसमेत बन्द भएका थिए। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका ५० भन्दा बढी स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि त्यहाँको सेवा बन्द गरिएको थियो। म्याग्दी, चितवन, रुपन्देहीलगायतका जिल्लामा पनि स्वास्थ्य सेवा बन्द भएका थिए।

कोरोना महामारीविरुद्धको उपचार औपचारिक उपचार हो। कोरोना संक्रमित भए पनि घरैमा उपचार गर्ने तथा पीसीआर जाँच नगराउनेको संख्या औपचारिक सेवा लिनेभन्दा दोब्बर रहेको अनुमान गर्न सकिन्छ। उनीहरु राज्यबाट प्रदान गरिने स्वास्थ्य सेवाभन्दा पनि आफ्नै परम्परागत उपचारमा विश्वास गर्ने भएकाले औपचारिक स्वास्थ्य सेवातर्फ नलागेका हुन सक्छन्।

महामारीका बेला काम लाग्ने ज्ञान:
नेपाली समाजमा आफ्नै स्वास्थ्य प्रणाली कायम रहँदै आएको छ। परम्परागत यो प्रणालीमा आध्यात्मिक विश्वास र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने ज्ञानहरु रहेका छन्। आफ्नै घर आँगन, करेसाबारीमा पाइने जडीबुटी, औषधिजन्य बोटबिरुवाको पहिचान आदिवासी ज्ञानबाट सम्भव छ। यसलाई आधुनिक चिकित्सा विज्ञानले पनि स्वीकार गरेको छ। आदिवासी समाजमा आध्यात्मिक आस्थामा आधारित सामूहिक पूजा, प्रार्थना, योग, ध्यान, मोलम पाठलगायतका क्रियाकलाप आदिवासी जीवनको अभिन्न अंग हो। आम्ची, बिजुवा, धामी, बोन्बोलगायतले फरक-फरक आदिवासी समुदायमा फरक नामबाट यसको नेतृत्व गरिरहेका हुन्छन्। उनीहरुसँग स्वास्थ्यसम्बन्धी ज्ञानको प्रचुर सम्भावना हुन्छ। कोरोना महामारीका क्रममा यसलाई सकारात्मक ढंगले प्रोत्साहन गर्न आवश्यक छ।

यस्तो उपचार प्रणाली अन्धविश्वास भन्ने धेरैलाई लागेको हुन सक्छ। उपचारमा प्रयोग हुने जडीबुटी खानपान तथा प्राकृतिक जीवनशैली जस्ता तत्त्व ज्ञान कुनै अन्धविश्वास नभएर आधुनिक चिकित्सा विज्ञानको सहयोगी अवयवहरु हुन्। यसैले कोरोना महामारीमा सुरक्षित रहनु सँगसँगै प्राकृतिक जीवनशैली अपनाउनु सुरक्षित रहने उपाय हो।

आदिवासी खाना तथा परिकारः
आदिवासी समाजमा आफ्नै मौलिक खानाहरु प्रचलित छन्। पुस्तौंदेखि चलिआएका आदिवासीका खानाहरुमा सन्तुलित, रोग प्रतिरोध क्षमता भएका हुन्छन्। स्थानीयस्तरमा नै सजिलै उपलब्ध हुने मकै, कोदो, गहुँ, फापर, घैया, कागुनी, उवा, जुनेलो लगायतका खाद्यन्न, फलफूल, कन्दमूल, सागसब्जीको सेवन गर्ने आदिवासी परम्परा छ। यस्ता खानाहरुको संकलन, भण्डारण, प्रशोधन र पकाउने विधि आदिवासी ज्ञानले मात्र निर्देश गर्न सक्छ। बजारमा पाइने प्रशोधित प्याकिङको खानेकुराभन्दा हाम्रै साधन र सा्रेतमा सजिलै उपलब्ध हुने खानेकुराहरु पोषिलो, स्वास्थ्यवर्द्धक र रोग प्रतिरोध गर्नसक्ने हुन्छन्। यसकारण कोरोनाबाट जोगिने उपायका रुपमा आदिवासी खानाको प्रयोग अर्को सुरक्षित हुने उपाय हो।

बजारमा पाइने प्रशोधित प्याकिङको खानेकुराभन्दा हाम्रै साधन र सा्रेतमा सजिलै उपलब्ध हुने खानेकुराहरु पोषिलो, स्वास्थ्यवर्द्धक र रोग प्रतिरोध गर्नसक्ने हुन्छन्। यसकारण कोरोनाबाट जोगिने उपायका रुपमा आदिवासी खानाको प्रयोग अर्को सुरक्षित हुने उपाय हो।

कोरोना महामारीजस्तै विपद्का बेला विगतमा अभ्यासमा आएका परम्परागत मान्यता अहिलेको सन्दर्भमा पनि सान्दर्भिक हुन्छ। परम्परा इतिहासको शिक्षा र वर्तमानको चुनौतीलाई समाधान गर्ने यो ज्ञानको प्रयोग यस्तै संकटमा गर्ने हो। स्वास्थ्यको क्षेत्रमा प्रचलित सोवारिग्पा उपचार पद्धति यसैको एक उदाहरण हो।

यस्तै स्थानीय बोटबिरुवा, नदी खोला तथा तलाउ, भीर, पाखा, समतल भूमिमा उपलब्ध प्राकृतिक स्रोतमा पाइने जडीबुटीलगायत औषधीजन्य पदार्थको पहिचान गर्ने ज्ञान यस्तै परम्परामा हुन्छ। यसरी आदिवासी जनताको जीवन रक्षा, खाद्य आपूर्तिका लागि खान मिल्ने विभिन्न प्रकारका स्रोतको पहिचान गर्ने सीप यी परम्पारबाट आएका हुन्। कोरोनाजस्ता महामारीका बेला नागरिकको रोग प्रतिरोध गर्ने क्षमता अभिवृद्धि गर्न खाद्यपदार्थ पहिचान गर्ने परम्परागत ज्ञान विश्वव्यापी प्रोत्साहित भएको प्रसंग हाम्रो अगाडि ताजै छ।

आवागमनको नियमन गर्ने परम्परा:
आदिवासी समाजलाई नियमन गर्ने आफ्नै परम्परा र प्रथाजनित संस्थाहरु छन्। नेवा आदिवासीको गुथीः, थकाली आदिवासीको तेह्र मुखिया घम्प, थारु आदिवासीको बरघर, माझीको मझेसावा, धिमाल र सन्थालको माझी वाराङ, ह्योल्मोको ह्युल्ठीम, मगरको भेजा, तामाङको चोहो, लिम्बू-राईका तुतुतुम्याङहरुले यस्तो महामारीमा गर्ने अभ्यास सम्झाइरहेका हुन्छन्।

धेरै स्थानमा प्रथाजनित संस्थाहरुले बाह्य मानिसको आगामनलाई नियमन गर्ने नियम लागू गरेका छन्। उदाहरणका लागि पाल्पाको मगर गाउँमा मगर अगुवाहरुको बैठकबाट मूलबाटोमा विशेष संकेत लगाउने काम गरेका छन्। प्रथाजनित भेजाको नियमानुसार यस्तो संकेत नाघेर गाउँमा जान नहुने आदेश हो। यस प्रकारको आदेशले आदिवासी गाउँमा बाह्य मानिसको आवागमनलाई नियमन गर्दछ।

यस्तो अभ्यास धेरै स्थानमा भएको पाइन्छ। तर ती अभ्यास नबुझेर वा त्यसको सकारात्मक अर्थ दिन नसकेर यस्ता क्रियाकलापलाई अवैज्ञानिक तथा अन्धविश्वास भन्ने गरिएको छ। तर यो कुनै अन्ध विश्वास नभएर प्रथाजनित व्यवहार हो। जसको पालनाले समाजलाई सुरक्षित बनाउन सहयोग गर्दछ। वास्तवमा कोरोना महामारी आवागमनबाट सर्ने रोग हो।

कोरोना महामारी आजको यथार्थ हो। महामारीबाट कोही पनि अछुतो रहेका छैनन्। समाजका सबै वर्ग, जाति तथा समुदाय प्रभावित छन्। तर यो तथ्य पनि सत्य हो कि प्रथाजन्य भूमिमा जो प्राकृतिक जीवन बाँचिरहेको छ, ऊ यो संसारमा सबैभन्दा बढी सुरक्षित रहेको हुन्छ। संसारभरका आदिवासीहरुको अनुभवबाट यो सिद्ध हुन्छ कि जुन आदिवासी समाज आफ्नो प्रथा, परम्परा र ज्ञानलाई आफ्नो प्रथाजन्य भूमि र भूभागमा प्राकृतिक स्रोत र साधनको जगेर्ना गरेर प्राकृतिक जीवन बाँचिरहेको छ, ऊ नै सर्वाधिक सुरक्षित प्राणी हो।

(इन्डिजिनियस फिचर सेवा)

  • १७ फागुन २०७८, मंगलबार १०:०४ मा प्रकाशित
  • Nabintech