१० मंसिर २०७९, शनिबार
संसद्‍बाट एमसीसी पारित हुनु स्वागतयोग्य : महासंघ
  • मध्यमार्ग

नेपाल उद्योग वाणिज्य महासंघले संसद्‍बाट अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अनुमोदन भएकोमा स्वागत गरेको छ। महास‌ंघले सोमबार विज्ञप्ति जारी गर्दै व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट एमसीसी सम्झौता पारित हुनु स्वागतयोग्य भएको बताएको हो।

प्रतिनिधिसभाबाट केही बुँदाहरुमा रहेको अस्पष्टतासमेतलाई प्रस्ट पार्दै त्यसको व्याख्यात्मक घोषणाका साथ सम्झौता अनुमोदन भएकोमा अब यसका विषयमा रहेका सबै भ्रमहरु चिरिने विश्वास महासंघको छ।

‘नेपाल सरकार र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच सन् २०१७ सेप्टेम्बर १४ मा भएको सम्झौताअनुसार विद्युत प्रसारणलाइन निर्माण र सडक मर्मतको काम संघीय संसद्‍बाट सम्झौता अनुमोदनपश्चात् सुरु हुनेछ। सम्झौता अनुमोदनपश्चात् अब यो परियोजना पूर्णरुपमा कार्यान्वयनको चरणमा जाने महासंघको विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ।

नेपालको विकासमा रणनीतिक महत्त्व राख्ने विद्युत् प्रसारणलाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने महास‌ंघले जनाएको छ। ‘कोभिड-१९ ले सिर्जित परिस्थितिका कारण आन्तरिक स्रोत खुम्चिएको छ भने वैदेशिक सहायता पनि अपेक्षाकृत बढ्न सकेको छैन। सम्झौता कार्यान्वयन हुँदा महामारीपछि अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्नुका साथै दीर्घकालमा विद्युत् निर्यात एवं प्रविधि हस्तान्तरणको समेत ढोका खुल्नेछ,’ महासंघको भनाइ छ।

एमसीसीअन्तर्गतका आयोजना सुरु भएको पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्थाले विकास सुशासनका लागि समेत नमूना बन्न सक्ने महास‌ंघको विश्वास छ। ‘अब यसबाट प्रतिफल लिन सम्झौता कार्यान्वयनका लागि गठित मिलेनियम च्यालेञ्ज अकाउन्ट (एमसीए) ले तदारुकताका साथ काम गर्नुपर्छ। यसका लागि सरोकारवाला सबैले खबरदारी गर्नु पनि आवश्यक छ,’ महास‌घले भनेको छ, ‘तीन दर्जनभन्दा बढी मुलुकमा एमसिसिअन्तर्गत परियोजना निर्माण भइसकेकाले नेपालमा पनि सहज कार्यान्वयन हुनेमा निजी क्षेत्र विश्वस्त छ। पूर्वाधार विकास, आर्थिक वृद्धि र रोजगारी सिर्जनाका कुनै पनि क्रियाकलाप कुनै पनि बहानामा प्रभावित हुनु हुँदैन भन्नेमा महासंघ स्पष्ट छ।’

सम्झौता अनुमोदनबाट समग्रमा नेपालमा लगानीको वातावरण रहेको सन्देश विश्व समुदायसम्म पुग्ने र यसबाट भविष्यमा अन्य वैदेशिक लगानी एवं सहायतासमेत भित्रिने विश्वास महासंघको छ।

  • १७ फागुन २०७८, मंगलबार ०८:५४ मा प्रकाशित
  • Nabintech