९ असाेज २०७९, आईतबार
कविता : मेरा प्रियहरू
  • मध्यमार्ग

मेरो प्रियहरू,
मलाई एक चिम्टी माया देऊ
म जुगौंसम्म माया साटिदिन्छु
मलाई एक मुठ्ठी आशा देऊ
म जुगौंसम्म बाँचिदिन्छु।

नछोड है मेरो साथ कहिल्यै
तिमीबिना आँखाहरू अधुरा छन्
मलाइ एकपटक हैन पटक पटक
तिम्रो माया, भरोसा, विश्वास चाहिन्छ
म कहाँ टाढा जादैँ छु र तिमीबाट
सम्झेर त हेर सदैव तिमीसँगै छु।

मेरा प्रियहरू,
म जाँदै गर्दा मेरा आँखाहरू राख
मेरा राम्रो भाकाहरू जीवनमा राख
म फेरि फेरि आशाहरू लिन आउँनेछु
म फेरि फेरि आयामहरू लिन आउँनेछु
तिमी तिम्रा आवाजहरू मलाई देऊ
म स्वर बनेर आफैंमा गुञ्जिरहन्छु
तिमी तिम्रा आभाषहरू मलाई देऊ
म आफ्नै जीवनमा गुञ्जाइहन्छु।

मेरा प्रियहरू,
तिमी मलाई फेरि सम्झ या नसम्झ
म तिम्रो प्रत्येक यज्ञमा हवन हुनेछु
अनि स्वयं तिम्रो हुँ, सिद्धी हुनेछ
तिम्रा हरेक भरोसाहरूमा टेक्दै
तिम्रा प्रत्येक शरदको यादहरूमा
म मलिन दीपक बनी जलिरहनेछु।

(लेखक नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक हुन्)

  • १७ फागुन २०७८, मंगलबार ०८:२८ मा प्रकाशित
  • Nabintech