१७ असाेज २०७९, सोमबार
आज महाशिवरात्रि, पाशुपत क्षेत्रमा बिहानैदेखि दर्शनार्थीको भीड
  • मध्यमार्ग

आज (मंगलबार) शिवको विशेष पूजा आराधना गरी महाशिवरात्रि पर्व मानइँदै छ। शिवको प्रिय दिनको रुपमा पनि मानिने शिवरात्रिको दिनमा शिव मन्दिरमा विशेष भीड लाग्ने गर्छ।

काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। हलेशी, देवघाटलगायत देशभरका शिवालयमा शिवको विशेष आराधना भइरहेको छ।

महाशिवरात्रिका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको छ । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिन मात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ। पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ। नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ।

महाशिवरात्रिका लागि नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट समेत पशुपति मन्दिर परिसरमा साधुसन्तहरू आएका छन्।

पशुपति आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोषले दान दक्षिणासहित बिदा गर्ने चलन छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ।

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँचवटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक–एक लाम गरी बाहिरीरूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको छ।

यसैगरी तिलगङ्गा राममन्दिरतर्फ समेत आवश्यकतानुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको कोषले जनाएको छ। जुन दर्शनमार्गबाट मन्दिर प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ।

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ।

  • १७ फागुन २०७८, मंगलबार ०८:१६ मा प्रकाशित
  • Nabintech