१७ असाेज २०७९, सोमबार
स्वरमा परिवर्तन आयो? ओमिक्रोन हुन सक्छ है!
  • डा. शेरबहादुर पुन

डेल्टा भेरियन्टको ठाउँ अब ओमिक्रोनले लिँदै गइरहेको केही दिनअगाडि स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले नै देखाउँछ। पुस २३ गतेसम्म २२ प्रतिशतमा सीमित ओमिक्रोन (एस-जीन नेगेटिभ) झन्डै दुई हप्ताको अन्तरालमा माघ ९ गतेसम्म आइपुग्दा ८८ प्रतिशतमा पुगेको छ।

मिक्रोन संक्रमितहरुमध्ये धेरैले घाँटीमा समस्या हुने गरेको अनुभव सुनाउँछन्। विश्वमा नै ओमिक्रोन संक्रमितहरुमा मुख्यगरी घाँटीमा समस्या हुने गरेको अनुसन्धान तथा चिकित्सकहरुको अनुभवले पनि देखाउँछ। ओमिक्रोन प्रभावित कतिपय देशका चिकित्सकहरुले ओमिक्रोन ‘सुन्न सकिने’ समेत भन्ने गरेको पाइन्छ। ओमिक्रोन संक्रमितको स्वरमा परिवर्तन हुने भएको कारण ‘सुन्न सकिने’ भनिएको हो।

यहाँ लेखकले ‘ओमिक्रोन भ्वाइस’ भन्नाले ओमिक्रोन संक्रमण भएपछि स्वरमा देखिने परिवर्तनलाई भन्न खोजेको हो। हाल धेरै संक्रमितहरुले घाँटी दुख्ने वा घाँटीमा केही डल्लो चिज अड्केको जस्तो अनुभव गर्ने वा घाँटीमा असहज हुने र स्वर दबेको/धसेको वा परिवर्तन हुने अनुभव गरेको पाइन्छ।

हाल ओमिक्रोन लगभग घर-घरमा पुगेको र अधिकांश परिवारका धेरै सदस्यमा (कसै-कसैका परिवारका पूरै सदस्यहरु) उस्तै-उस्तै लक्षणहरु देखा पर्ने गरेको छ। तर, सबै जनाले विभिन्न कारणले गर्दा परीक्षण भने गर्ने गरेको पाइँदैन। सबैमा ओमिक्रोनका लक्षणहरु विकास हुन्छ नै भन्ने पनि छैन।

यदि, परिवार वा सहकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको र विभिन्न कारणले परीक्षण नगरेका/गर्न नचाहेकाहरुमा स्वरमा परिवर्तन देखिए त्यो ‘ओमिक्रोन भ्वाइस’ वा ओमिक्रोन संक्रमित स्वर पनि हुनसक्छ। त्यसमा थप टाउको तथा शरीरका मांशपेशी दुख्ने, नाकबाट पानी आउने/बन्द हुने, हल्का शरीर तातिएको महसुस हुने र थकान महसुस हुने जस्ता लक्षण पनि देखिने गर्छ। तर, यस्ता लक्षण देखिएकाहरुमा फ्लूको परीक्षण गर्दा नतिजा भने नेगेटिभ आउने गरेको छ।

कोरोना पुष्टि भएका परिचित कयौँ व्यक्तिसँग फोनमा परामर्शको क्रममा कुराकानी गर्दा लेखकले प्रष्टै ‘ओमिक्रोन भ्वाइस’ सुन्ने गरेको छ। त्यस्तै, पहिले परिचय नभएका संक्रमण पुष्टि भएकाहरुले लेखकसँग परामर्शको क्रममा स्वर दबेको/धसिएको/भासिएको भन्ने अनुभव सुनाउने गरेका छन्। हुन त, स्वर परिवर्तन अरु संक्रामक रोगहरु जस्तै, कमन कोल्ड/फ्लू वा नन-कोभिडमा (विशेषत घाँटीको समस्या भएकामा) पनि देखिने गर्छ। तर, हाल समुदायमा ओमिक्रोनले तीव्रता र व्यापकता पाइरहेको अवस्था र यसको असर पनि मुख्यतय घाँटीमा देखिने गरेकोले ‘ओमिक्रोन भ्वाइस’ हुनसक्ने भनिएको हो।

परीक्षण नगरिएको/गर्न नपाएको अवस्थामा कोरोना भएका जोकोहिसँग कन्ट्याक इतिहास छ र स्वरमा परिवर्तन देखिए वा ‘ओमिक्रोन भ्वाइस’ सुनिएमा तुरुन्त एकान्तबासमा बस्न सकिनेछ। यसबाट कोरोना भाइरस थप फैलनबाट रोक्न सहयोगी हुनेछ। यद्यपि, भाइरसको निश्चित निदान भने पीसीआर प्रविधिबाट गर्न सकिनेछ।

(डाक्टर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)

  • १४ माघ २०७८, शुक्रबार ०७:०७ मा प्रकाशित
  • Nabintech