९ असाेज २०७९, आईतबार
एक हप्ता थपियो गीतिनाटक ‘सपना अनेक अनेक’को मञ्चन अवधि
  • मध्यमार्ग

काठमाडौं– साउन ५ गतेदेखि सर्वानाम थिएटरमा मञ्चन भएको गीतिनाटक ‘सपना अनेक अनेक’को मञ्चन अवधि थपिएको छ। वरिष्ठ रंगकर्मी अशेष मल्लको परिकल्पना तथा निर्देशनमा तयार भएको गीतिनाटक दर्शकहरुको विशेष आग्रहमा थपिएको मल्लले बताए।

विधाको हिसाबले गीतिनाटक नयाँ प्रयोग भएपनि दर्शकको उत्साहजनक सहभागिताले उर्जा मिलेको मल्लले बताए। यो नाटकसँगै सर्वनामले कोभिड पछि आफ्नो हल सञ्चालनमा ल्याएको हो।

हाउसफूल दर्शकहरुको साथ पाइरहेको नाटक गीता खत्रीको खण्डकाव्य ‘आमा हुन् आमा’मा आधारित रहेर मल्लको परिकल्पना तथा निर्देशनमा तयार भएको हो। सर्वनामले चार दशकको इतिहासमा पहिलो पटक गीति नाटक प्रस्तुत गरेको हो। गीतिनाटकमा वरिष्ठ संगीतकार राजु सिंहको संगीत तथा चर्चित गायक सत्यराज आचार्य र वानिका प्रधानको स्वर रहेको छ।

गीतिनाटकमा सर्जकको काव्यिक भाव र तिनको समग्र प्रभावलाई केन्द्रविन्दुमा राखेर बिम्ब र प्रतीकलाई चित्रात्मकता दिने कोसिस गरेको निर्देशक अशेष मल्ल बताउँछन्।

नेपाली संगीतको हरेक विधामा तीन दशकदेखि कर्म गर्दै आएका संगीतकार राजु सिंहले सपना अनेक अनेकमार्फत संगीतकारको भूमिका निर्वाह गर्न पाउँदा खुशी व्यक्त गरे।

‘प्रस्तुत गीतिनाटकमार्फत् पूर्ण संगीतकार भएको महसुस गरेको छु। गर्व पनि लागिरहेको छ। यसले नेपाली गीतिनाटकमा विशेष योगदान पुर्‍याउने विश्वास लिएको छु’, उनी भन्छन्, ‘दर्शकको उत्साहजनक सहभागिताले यो नाटक आफ्नो सांगीतिक यात्रामा कोशेढुगांको रुपमा कायम भएको छ।’

गायक सत्यराज आचार्यले गीतिनाटकमा आफू पनि सहभागी हुन पाउँदा खुशी लागेको बताए। ‘यो गीतिनाटकका गीतहरू गाउँदा मलाई गीत हैन जीवन बाँचेको अनुभूति भयो। धेरै गीतहरू गाएँ। प्रायः हर दिन गीत गाइरहेकै हुन्छु। तर सँधै गाउने भन्दा नितान्त र बेग्लै प्रवाहको यो गायनले मलाई अझै पनि तरङ्गित बनाइरहेको छ’, आचार्यले भने, ‘संगीतकारसँग सहकार्य गर्दै, निर्देशकको परिकल्पनालाई कोरियोग्राफर हुँदै कलाकारका अभिनयसम्म पुगेको यो प्रस्तुतिमा साँच्चै नै नवीतम प्रयोग भएको छ।’

विदेश पुग्न सपना बुन्नेहरू, विदेशको माटोमा पुगेपनि आफ्नै देशको यादले रात दिन तड्पिरहेका हुन्छन्। त्यो एउटा प्रतीक हो। चाहे जुनसुकै मुलुकमा पुगेपनि आफ्नै माटो र आफ्नै आमाको मायाले पिरोलिरहन्छ। आमा अर्थात् नेपाल आमा। आमाको त्यो विम्व नै नाटकको सार हो। गीतिनाटकमा कोरियोग्राफी प्रमिला कार्की उप्रेतीको रहेको छ भने मनोज महर्जन, भावना उप्रेती, रविना परियार, धिरज थापा, मिलन शाक्य, निरीक्षा घतानी, शूँ–गूको अभिनय रहेको छ।

मञ्चन अवधि थपिएसँगै गीतिनाटक यही २८ गतेसम्म बिहीबारबाहेक हरेक दिन साँझ ५ः३० बजे र शनिबार अतिरिक्त शो दिउँसो १ बजे मञ्चन हुनेछ।

  • २२ साउन २०७९, आईतबार १८:२६ मा प्रकाशित
  • Nabintech