९ असाेज २०७९, आईतबार
कैलालीमा चितुवाको छालासहित चार जना पक्राउ
  • मध्यमार्ग

काठमाडौं– प्रहरीले कैलालीको गोदावरी नगरपालिकाबाट चितुवाको छालासहित चार जनालाई पक्राउ गरेको छ।

अत्तरियातर्फ अवैध किसिमको बाघको छाला ओसार–पसार भइरहेको छ भन्ने विषेश सूचनाको आधारमा प्रदेश प्रहरी अनुसन्धान समूह (आरआईटी) र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोदावरी नगरपालिका–२, तेघरीस्थित खानेपानी ट्याङ्की नजिकबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बैतडीको डिलासैन गाउँपालिका–२ का राजेन्द्र सिंह भण्डारी, डोटीको जोरायल गाउँपालिका–२ का समिर ओली र कैलालीको चुरे गाउँपालिका–६ का टेक बहादुर रावत र धिरेन्द्र रावत छन्।

ओलीले चलाएको बुडरबाट धनगढीतर्फ आएको सुपप्र ०४–००१ च ०००६ बोलेरो जिपको बिचको सिटमा रहेको सेतो प्लाष्टिक बोराभित्र चितुवाको छाला एक थान र हड्डीहरु फेला परेको कैलाली प्रहरीका डीएसपी वेदप्रकाश जोशीले बताए। उक्त जिप रोक्न खोज्दा नरोकेपछि प्रहरीले जिपको पिछा गरि रोकेको थियो।

प्रहरीले उनीहरूको साथबाट चितुवाको टाउकोदेखि पुच्छरसम्म चार फिट सात इन्च, पुच्छरको लम्बाई तीन फिट दुई इन्च, चौडाई दुई फिट दुई इन्च भएको छाला र हड्डी दुई किलोग्राम बरामद गरेको छ।

  • २० साउन २०७९, शुक्रबार १३:३१ मा प्रकाशित
  • Nabintech