९ असाेज २०७९, आईतबार
चीनद्वारा ताइवानमाथि क्षेप्यास्त्र प्रहार, कुन देशले के भने ?
  • मध्यमार्ग

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेलगत्तै प्रतिक्रियामा व्यापक सैन्य अभ्यास सुरु गरेको चीनले उक्त टापु वरपर क्षेप्यास्त्रहरू प्रहार गरेको छ ।

चीनले प्रहार गरेका पाँचवटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको जापानले जनाएको छ ।

जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत कडा रूपमा त्यसको प्रतिवाद गरेको बताए ।

ताइवानले भने आफ्नो भूमि वरपर चीनले अहिलेसम्म ११ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको जनाएको छ ।

चीनले आफ्नो क्षेत्र दाबी गर्दै आएको ताइवानमा पलोसीको भ्रमणलाई सार्वभौमसत्तामाथिको चुनौती ठानेको छ ।

चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको समुद्रमा थुप्रै डङ्फेङ् बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको बताइएको छ ।

रोएटर्स रिपोर्टका अनुसार ताइवानका रक्षा मन्त्रीले पनि प्रक्षेपणको प्रतिक्रिया स्वरूप आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय बनाएको बताएका छन् ।

स्थानीय समय अनुसार १२ बजे प्रत्यक्ष गोलाबारी सुरु भएको थियो र यस टापु राष्ट्रको १२ माइल भित्रका धेरै स्थानहरूमा अभ्यास हुने तय गरिएको छ ।

ताइवानले चीनले यस क्षेत्रमा यथास्थिति परिवर्तन गर्न खोजिरहेको बताएको छ ।

हाल ताइवान र त्यहाँबाट अन्यत्र जाने ५० भन्दा बढी अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन् ।

यद्यपि, ताइपेईको जनजीवन सामान्य चलिरहेको बीबीसीका संवाददाताले बताएका छन् ।

उनका अनुसार त्यहाँका मानिसहरू शान्त तर चिन्तित अवस्थामा छन् ।

ताइवानको मुख्यभूमि मामिलासम्बन्धी निकायले चीनले अन्तर्राष्ट्रिय समुदायलाई यस टापुलाई सहयोग नगर्न बाध्य तुल्याउने प्रयास गरिरहेको बताएको छ ।

त्यस्तै चीनमाथि क्षेत्रीय शान्ति बिथोलेको र नाकाबन्दी लगाएको ताइवानको आरोप छ ।

त्यस्तै उसले चीनको सैन्य अभ्यासविरुद्ध तयारी गरिरहेको छ ।

विश्लेषक बोनी लिनले बीबीसीसँग ताइवानका सेनाले सावधानीपूर्वक प्रतिक्रिया जनाउने भए पनि लडाइँको जोखिम रहेको बताइन् ।

उदाहरणका लागि, चीनले ताइवानको आकाशमा विमानहरू उडाउने निर्णय गरेको खण्डमा ताइवानले उनीहरूलाई रोक्ने प्रयास गर्ने सम्भावना छ । दुई देशबीच हवाई टक्कर देख्न सक्छौँ । हामीले धेरै फरक परिदृश्यहरू देख्न सक्छौँ, उनले भनिन् ।

चीनको चेतावनीविरुद्ध अमेरिकी सभामुख पलोसीले ताइवानको छोटो तर विवादास्पद भ्रमण गरिन् । ताइवानलाई चीनले आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्छ ।

सोही भ्रमणको मुख्य प्रतिक्रिया स्वरूप बेइजिङले सैन्य अभ्यासहरू सुरु गरेको हो। यद्यपि, चीनले ताइवानसँग केही व्यापार पनि अवरुद्ध गरेको छ ।

यी दुई देशबीचको तनावका कारण व्यापारिक जहाजहरू मार्ग परिवर्तन गर्न बाध्य भएपछि विश्वव्यापी ढुवानीमा ढिलाइ र आपूर्ति प्रणालीहरू अवरुद्ध हुने ठानिएको छ ।

अमेरिकाको जलसेनाले ताइवानतर्फ विमान पठाएको छ जसलाई उसले फिलिपिन सीमा सामान्य र तय गरे अनुरूपको कारबाहीूको सङ्ज्ञा दिएको छ । बीबीसी

  • २० साउन २०७९, शुक्रबार ०७:५८ मा प्रकाशित
  • Nabintech