२० असाेज २०७९, बिहीबार
सरकारले माग्यो राहत सहयोग, सप्तकोशी बाढी प्रभावितलाई दिइने
  • मध्यमार्ग

काठमाडौं । सरकारले सप्तकोशीको बाढीबाट प्रभावित परिवारका लागि राहत विभिन्न निकायसँग सहयोग मागेको छ ।

गृहमन्त्रालयका अनुसार एकद्वार प्रणालीबाट राहत वितरण गर्न सरकारी, गैरसरकारी र व्यवसायीहरूसँग सहयोग मागेको हो ।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईद्वारा जारी प्रेस नोटमा लेखिएको छ, ‘उद्धार गरिएका नागरिकहरूको व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाउने क्रम जारी छ । राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्था र व्यवसायीलाई समेत सहयोगका लागि आह्वान गरिसकिएको छ ।’

संकलन गरिएका राहत उदयपुर र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी वा उनले तोकेको प्रतिनिधि तथा उदयपुरको बेलका र सुनसरीको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुखको संयोजनमा वितरण गरिने प्राधिकरणले जनाएको छ ।

वुधबार बिहान करिब ४ बजेतिर उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ को डुम्रिबोटको बाँध भत्काउँदै बस्तीमा पसेको थियो । त्यहाँ करिब २५ सय घर परिवार विस्थापित भएका छन् ।

  • १९ साउन २०७९, बिहीबार ०८:४१ मा प्रकाशित
  • Nabintech