९ असाेज २०७९, आईतबार
काठमाडौंको फोहोर एक हप्ता नउठाइने
  • मध्यमार्ग

फाइल तस्बिर।

काठमाडौं– बिहीबारदेखि एक हप्ता काठमाडौं उपत्यकाको फोहोर नउठ्ने भएको छ। काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापनको काम रोकिने काठमाडौं महानगरकी वातावरण विभाग प्रमुख सरिता राईले बताइन्।

महानगरले यस अवधिमा आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्नका लागि अपिल गरेको छ।

बाटो मर्मतको काम गर्नुपर्ने भएकाले उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने राइले बताइन्। यसअघि फोहोर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक हप्ता व्यवस्थापनको काम नहुने भएको हो।

सहरी विकास मन्त्रालयले फोहोरको गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै काठमाडौं महानगरपालिकालाई केही दिन फोहरको गाडी नपठाउन गरेको आग्रहअनुसार व्यवस्थापन कार्य रोकिएको हो।

हरेक दिन काठमाडौं उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। यसमध्ये सबैभन्दा बढी काठमाडौं महानगरको ५०० मेट्रिकटन फोहोर निस्किने गर्छ।

  • ५ साउन २०७९, बिहीबार ०६:४९ मा प्रकाशित
  • Nabintech