९ असाेज २०७९, आईतबार
पहिलोपटक रिवार्ड गर्दै सामना म्युजिक क्रियसन, २१ विधाका उत्कृष्ट पाँच जनालाई प्रमाणपत्र वितरण
  • मध्यमार्ग

तस्बिर : बद्री थापा

काठमाडौं– तीन वर्षदेखि राष्ट्रिय साधना अवार्ड कार्यक्रम गर्दै आएको सामना म्युजिक क्रियसनले यसपटक रिवार्ड गर्ने भएको छ। अर्थात् अवार्डसँगै नगद प्रदान पनि गर्ने कार्यको सुरुवात गर्न लागेको हो।

नेपालमा अवार्ड वितरण आयोजकले गर्न लागेको सम्भवत: यो नै पहिलो रिवार्ड भएको आयोजकको दाबी छ। जसअन्तर्ग सोमबार विभिन्न २१ विधाका उत्कृष्ट पाँच कलाकार/सर्जक/श्रष्टालाई मनोनयनको प्रमाणपत्र वितरण गरिएको छ।

अब छिट्टै एक विशेष कार्यक्रमको आयोजन गरेर अवार्ड (रिवार्ड) वितरण गरिने सामना म्युजिक क्रियसनकी अध्यक्ष सामना शाहले बताइन्।

अवार्डका नाममा विकृति बढेको र अवार्ड किनबेच हुने गरेको भनेर आलोचना भइरहेका बेला आफूहरूले नयाँ प्रयोग गर्न खोजेको प्रालिका सचिव गोकर्ण लामिछानेले बताए। उनले कला र सिर्जनाको सम्मानका लागि अवार्डको प्रमाणपत्रसँगै नगद राशी समेत दिन थालिएको बताए। सुरुमा ठूलो रकम दिन नसकिएपनि यो एउटा सुरुवात भएको लामिछानेले बताए।

अवार्ड वितरण कार्यक्रमलाई स्वस्थ, मर्यादित बनाउन, यसका विषय लाग्ने गरेका आरोपहरूलाई खण्डित गर्न पनि आफ्नो संस्था लागिरहेको उनले बताए। आफ्नो संस्थाले यसघि वितरण गरेका अवार्डमा पनि कुनै चलखेल नगरेको भन्दै उनले रिवार्डले झन् संस्था, कलाकार/सर्जक/स्रष्टाको गरिमा बढ्ने बताए।

कार्यक्रममा पूर्वमन्त्री (शान्ति तथा पुनर्निर्माणमन्त्री) एवं प्रतिनिधि सभा सदस्य सत्य पहाडीले यस्ता कार्यक्रमले कला, साहित्य, संगीत र सिर्जनाका क्षेत्रमा साधनारत व्यक्तिहरूलाई हौसला मिल्ने बताइन्।

उनले देशको कला, संस्कृति, साहित्य, संगीतले अन्तर्राष्ट्रिय रूपमा पहिचान विस्तारमा सहयोग पुग्ने हुँदा यस क्षेत्रको संरक्षण, सम्वर्द्धन र विकासका लागि सबै लाग्नुपर्ने बताइन्।

उनले देशको पहिचानलाई सभ्य बनाउन र जगेर्ना गर्ने राजनीतिभन्दा पनि यो क्षेत्रको योगदान बढी हुने बताइन्। कला, साहित्य, संगीत र सिर्जनाले मान्छेलाई ऊर्जा प्रदान गर्ने भन्दै पूर्वमन्त्री पहाडीले यो क्षेत्रले समाज र देश बोल्नुपर्ने धारणा राखिन्।

तस्बिर : बद्री थापा

यस्तै, साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ले कला, साहित्य, संगीत र सिर्जना अमूल्य निधि भएकाले यसको संरक्षण र विस्तारमा लाग्नुपर्ने बताए।

सामना म्युजिक क्रियसन यसमा लागिरहेको भन्दै उनले धन्यवाद दिए। यो क्षेत्रसँग सम्बन्धित सबैजना यसरी नै लाग्ने हो भने यसको गरिमा र महत्त्व अहिलेको भन्दा झन् बढ्ने उनको दाबी छ।

अन्य देशहरूमा कला, साहित्य क्षेत्र त्यहाँको सभ्यता र संस्कृतिको परिचायक भएको भन्दै उनले नेपालको सभ्यता, संस्कृति र पहिचानका लागि यो क्षेत्र अझै जुर्मुराउनुपर्ने बताए।

कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी मोहन निरौलाले राज्यले कला, साहित्य, संगीत र सिर्जनाका क्षेत्रमा ध्यान दिन नसकेको गुनासो गरे। उनले कलाकारलाई राष्ट्रका गहना भन्ने गरेकोमा समेत चित्त दुखाए। कलाकार राष्ट्रका गहना नभएर राष्ट्रको परिचायक रहेको बताए। कलाकार राष्ट्रको पहिचानका दूत भएको उनको भनाइ छ।

यस क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई अन्त्य गर्दै समुन्नत र सुसंस्कृतिक क्षेत्र बनाउनुपर्ने उनको भनाइ छ। यसका लागि यस क्षेत्रमा साधनारत सबै लाग्नुपर्ने र राज्यले समेत उपेक्षा गर्न नहुने उनले बताए।

कार्यक्रममा कला, साहित्य, संगीत र सिर्जनाका क्षेत्रमा विभिन्न व्यक्ति, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो।

  • ३ साउन २०७९, मंगलबार ०८:०९ मा प्रकाशित
  • Nabintech