९ असाेज २०७९, आईतबार
अन्तत: मुद्दा हारे एआईजी विश्वराजले, अब के गर्लान्?
  • मध्यमार्ग

काठमाडौं– नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले मुद्दा हारेका छन्। अर्का एआईजी धीरजप्रताप सिंहलाई आईजीपी बनाउने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

उनको रिटमा अन्तिम सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले शुक्रबार रिट राखेजको फैसला सुनाएको हो। सर्वोच्चले रिट खारेज गरेसँगै सिंह प्रहरीको आईजी कायम रहने भएका छन्।

शुक्रबार रिट निवेदक पक्षका कानुन व्यवसायीले जबाफी बहस सकेपछि सर्वोच्चले सरकारकी निर्णय सदर हुनेगरी रिट खारेज हुने फैसला सुनाएको हो।

सरकारले वरीयताको तेस्रो नम्बरमा रहेका सिंहलाई नयाँ आईजी बनाएपछि पोखरेल सर्वोच्च पुगेका थिए। पोखरेलले आईजी बढुवाका लागि आफूमात्र योग्य रहेको जिकिर रिटमा गरेका थिए।

सर्वोच्चले आफ्नो पक्षमा फैसला नगरेपछि एआईजी पोखरेल राजीनामा दिने मूडमा पुगेका छन्। पोखरेलले आइतबार वा सोमबार राजीनामा दिने तयारी गरेको बताइएको छ।

पोखरेलले आफू आईजीपी हुन नपाएपछि लामो बिदा लिएका थिए भने बिदा सकिएपछि पनि उनले पुनः बिदा स्वीकृत गराउन चाहेका थिए । तर, उनको बिदा स्वीकृति भएको थिएन। बिदा स्वीकृत नभएपनि उनी कार्यालय भने गएका थिएनन्। प्रहरी नियमावली अनुसार ४५ दिनसम्म गयल हाजिर भएमा बर्खास्तसम्म गर्न सकिने व्यवस्था भएकाले पोखरेलले त्यसअघि नै राजीनामा दिने तयारी गरेका हुन्।

पोखरेल गैरहाजिर भएको साउन ८ गते ४५ दिन पुग्छ। बर्खास्त भएको अवस्थामा पेनसन लगायतका सेवासुविधा समेत नपाउने हुँदा पोखरेल राजीनामा दिने मूडमा पुगेका हुन्। राजीनामा नदिएको अवस्थामा उनी आउँदो साउन २० गते अनिवार्य अवकाशमा जानेछन्।

  • ३१ असार २०७९, शुक्रबार १५:२९ मा प्रकाशित
  • Nabintech