२० असाेज २०७९, बिहीबार
…जब उडिरहेको जहाजभित्र धुँवा देखियो
  • मध्यमार्ग

फाइल तस्बिर।

काठमाडौं–तपाईं विमान चढ्नुभएको छ भने पक्कै पनि विमानस्थलमा गरिने सुरक्षा जाँचबारे जानकार हुनुहुन्छ। विमानस्थलमा प्रवेश गर्दा नै प्रस्थान कक्षतर्फको गेटमा सुरक्षा जाँच हुन्छ। ब्यागेजहरू स्क्यान मेसिनबाट छिराउनुपर्छ। ढोका प्रहरीले खानतलासी गरेर मात्र भित्र जान दिन्छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ पनि बोर्डिङ पास लिएर उडान कक्षतिर जाँदा फेरि अर्को सुरक्षा जाँच हुन्छ। जहाँ मोबाइल, पर्स, बेल्टलगायत खोलेर एउटा भाँडामा राखी स्कानर मेसिनभित्र छिराउनुपर्छ। कतिसम्म भने जुत्ता समेत खोल्न लगाइन्छ। यी प्रकिया पूरा गरेर अघि बढेपछि मात्र टिकटमा सुरक्षाकर्मीले छाप लगाइदिएपछि मात्र भित्र प्रवेश गर्न पाइन्छ।

भन्नु परोइन विमानस्थलभित्र निषेधित कुनै पनि वस्तु लान मिल्दैन। यस्ता वस्तु लिएर जहाज चढ्न त झन् पाइँदै पाइँदैन। यिनै मध्येको एक हो सलाई वा लाइटर। अर्थात् जहाजभित्र प्रज्वलनशील पदार्थ लान मिल्दैन।

तर, बुधबार दिउँसो सवा ३ बजे काठमाडौंबाट धनगढीका लागि उडेको बुद्ध एअरको उडान नम्बर २५३ को जहाजमा भने एउटा अप्रत्यासित घटना भयो। जहाँ विमान उड्दा उड्दै विमानभित्र हल्का धुँवा देखियो। उडिरहेको विमानभित्र धुँवा देखिएपछि यात्रु आत्तिए। आगो लागेको भन्ठानेर उनीहरू अत्तालिए।

तर, भएछ के भजे जहाजका यात्रु कैलालीको टीकापुरका नारायण उपाध्यायले विमानको शौचालयभित्र गएर चुरोट सल्काएछन्। अनि निस्कदा चुरोट पिउँदै सिटमा बसेछन्। त्यसपछि एकछिन त्यहाँ तनाव सृजना भएको थियो। विमानका उडान कर्मचारीले उडान अवधिभर उपाध्यायलाई निगरानीमा राख्नुपरेको थियो।

सिट नम्बर ‘११ ए’ मा बसेका उनले उडान आचारसंहिता विपरीत काम गरेकाले प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढी विमानस्थमा ओर्लिनबित्तिकै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। उनी पहिलोपटक विमान चढेर उडान नियम थाहा नपाएका हुन् वा अन्य कारण हो भन्ने विषयमा अनुसन्धानपछि मात्र थाहा हुने कैलाली प्रहरीले जनाएको छ।

  • २९ असार २०७९, बुधबार २१:०७ मा प्रकाशित
  • Nabintech