९ असाेज २०७९, आईतबार
टिपरभित्र किशोरीलाई बलात्कार गरेर भागेका ड्राइभर पक्राउ
  • मध्यमार्ग

काठमाडौं– एक किशोरीलाई टिपरभित्र बलात्कार गरेर भागेका टिपर चालक पक्राउ परेका छन्।

दोलखाबाट काठमाडौं आएकी ती १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दोलखाकै गौरीशंकर गाउँपालिका–८ का ३२ वर्षीय ज्ञान बहादुर नेपाली पक्राउ परेका हुन्। उनकाविरद्ध बालिकाको तर्फबाट बलात्कारको जाहेरी परेको थियो।

उक्त जाहेरीका आधारमा रा १ ख २७३४ नम्बरको टिपरका चालक नेपालीलाई कलंकीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

गत शुक्रबार दोलखाबाट टिपरमा आएकी किशोरीलाई टिपर चालक नेपालीले थानकोट पुर्‍याएर राति करिब १० बजे टिपरभित्रै बलात्कार गरेका बताइएको छ।

किशोरी काठमाडौंको गौशालामा बसेर बढ्दै काम पनि गर्छिन्। उनलाई टिपरमा तेल सकियो भन्दै थानकोट डिपो नजिकै पुर्‍याएर बलात्कार गरेको प्रहरीले जनाएको छ।

नेपाल आयल निगमको थानकोट डिपो जाने बाटोको छेउ नजिक चालकले उनलाई टिपरभित्रै बलात्कार गरेका थिए। उनले सहचालकलाई गाडीको टायर चेक गर्नु भन्ने बाहानामा गाडीबाट बाहिर पठाएका थिए।

सहचालकलाई बाहिर पठाएर टिपरको ढोका बन्द गरेको र आफूलाई बलात्कार गरेको किशोरीको जाहेरीमा उल्लेख छ। बलात्कारपछि उनी टिपर त्यहीँ छाडेर फरार भएका थिए।

थानकोट वृत्तले पीडित बालिकालाई उद्धार गरी स्वास्थ्य परीक्षण तथा उपचारका लागि प्रसुती गृह अस्पताल थापाथली लगेको थियो।

पक्राउ परेका नेपालीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न सोमबार काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। मुलुकी फौजदारी संहिता २०७४ को करणी सम्बन्धी कसूर अन्तरगत नेपालीमाथि प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको एसपी मैनालीले बताए।

  • २८ असार २०७९, मंगलबार ०७:३१ मा प्रकाशित
  • Nabintech