१० मंसिर २०७९, शनिबार
२४ वर्षीया युवतीलाई सामूहिक बलात्कार गर्ने तीन जना जेल चलान
  • मध्यमार्ग

काठमाडौं– एक २४ वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा तीन जना जेल चलान भएका छन्। गत जेठ २९ गते काठमाडौं महानगरपालिका–बौद्धस्थित लुङ्ता गेस्ट हाउसको तेस्रो तलाको कोठामा उनीहरूले ती युवतीलाई बलात्कार गरेका थिए।

जेल चलान हुनेमा काठमाडौं बस्ने २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ घर भएका २२ वर्षीय रिन्जेन शर्पा, सर्लाहीको बागमती नगरपालिका–४ का ३४ वर्षीय उत्तम लामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी दिनेशराज मैनालीले जानकारी दिए।

जेठ २९ गते बिहान पौन ४ बजेतिर एक महिलाले प्रहरी कन्ट्रोल १०० मा फोन गर्दै आफू सामूहिक बलात्कारमा परेको बताएकी थिइन्। बौद्धस्थित होटल लुङ्तामा आफू बलात्कृत भएको बताएपछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थल पुगेको थियो।

प्रहरी घटनास्थल पुग्दा आरोपित फरार भइसकेका थिए। प्रहरीले होटल सञ्चालक सिन्धुपाल्चोक भोटेकोशीका ३४ वर्षीय आङनिमा भनिने झ्याम्पा ढिल्ले शेर्पालाई पक्राउ गरेर अनुसन्धान अघि बढायो। त्यसपछि सोही दिन दिउँसो उनीहरू पक्राउ परेका थिए।

उनीहरूले दरबारमार्गबाट घर पुर्‍याउने भन्दै मोटरसाइकलमा बौद्ध पुर्‍याएर ती युवतीमाथि सामूहिक बलात्कार भएको खुलेको थियो।

पक्राउ परेकामाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ को करणी सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतको सोमबारको आदेशले प्रतिवादीमध्येका रिन्जेन शेर्पा भन्ने रिन्जेन दावा लामा, उत्तम भन्ने उत्तरमान मुक्तान र रितेश तामाङ पुर्पक्षका लागि जेल चलान भएका एसपी मैनालीले बताए।

गेष्ट हाउस सञ्चालक झ्याम्पा ढिल्ले शेर्पा दश लाख धरौटी तिरेर तारेखमा रिहा भएका प्रहरीले जनाएको छ।

  • २७ असार २०७९, सोमबार २०:५५ मा प्रकाशित
  • Nabintech