१७ असाेज २०७९, सोमबार
ब्याजदर बढेपछि बैंकहरूको निक्षेप संकलनमा पनि वृद्धि
  • मध्यमार्ग

बचतमा ब्याजदर बढाउने निर्णयको असरस्वरुप बैंकहरुको निक्षेप संकलन बढ्न थालेको छ। ब्याजदर बढाएको दुई साता पुग्नै लाग्दा निक्षेप संकलन बढ्न लागेको नेपाल बैंकर संघले जानकारी दिएको छ।

फागुन लागेदेखि समान्य रुपमा बढ्न थालेको निक्षेप संकलनको दर फागुनको दोस्रो सातासम्म आइपुग्दा अझ बढेको संघको भनाइ छ।

संघको तथ्याङ्कअनुसार फागुन पहिलो साता १ अर्ब ३७ करोड रूपैयाँले बढेको निक्षेप दोस्रो साता १ अर्ब १८ करोड रूपैयाँले वृद्धि भएको हो।

पुस महिनामा १३ अर्बले घटेको निक्षेप माघ महिनामा साढे १३ अर्ब रूपैयाँले घटेको थियो। संघका अनुसार फागुन ६ गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब १२ अर्ब २२ करोड रूपैयाँ निक्षेप थियो। फागुन १३ गतेसम्म ४३ खर्ब १३ अर्ब ४० करोड पुगेको छ।

लगानीयोग्य पूँजी (तरलता) अभाव बढेको भन्दै बैंकहरुले फागुन १ गतेदेखि लागू हुनेगरी बचतको व्याजर बढाएका थिए।

निक्षेप संकलन संगै कर्जा लगानी पनि बढेको संघले जनाएको छ। संघका अनुसार वाणिज्य बैंकहरूले फागुन ६ गतेसम्म ४१ खर्ब ५९ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेकामा फागुन १३ सम्म आइपुग्दा कर्जा प्रवाह ५ अर्ब ५५ करोड रूपैयाँले बढेर ४१ खर्ब ६४ अर्ब ७७ करोड रूपैयाँ पुगेको छ।

फागुनको पहिलो ३ साता निक्षेप संकलन कूल २ अर्ब ५५ करोडले बढेको छ भने ९ अर्ब ९३ करोड रुपैयाँ थप कर्जा विस्तार भएको छ। निक्षेप संकलनको तुलनामा कर्जाको वृद्धिदर ४ गुणा बढी हो।

  • १६ फागुन २०७८, सोमबार २०:३४ मा प्रकाशित
  • Nabintech