९ असाेज २०७९, आईतबार
गोली प्रहारबाट घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको निधन
  • मध्यमार्ग

काठमाडौं- गोली लागेर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ।

शुक्रबार बिहान आक्रमणमा परेका आबेको दिउँसो उपचारका क्रममा निधन भएको जापानी प्रसारण संस्था एनएचकेलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

६७ वर्षीय आबेमाथि शुक्रबार बिहान चुनावी अभियानका क्रममा नारा सहरको सडकमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एक बन्दुकधारीले गोली प्रहार गरेका थिए।

गोलीको आवाज आएपछि आबे आफ्नो छातीमा समाउँदै ढलेका थिए। उनको सर्टमा रगत देखिएको थियो। त्यसपछि बेहोस भएका उनलाई अस्पताल लगिएको थियो।

प्रहरीले आबेलाई गोली हान्ने ४१ वर्षीय शंकास्पद पुरूषलाई तत्काल पक्राउ गरेको थियो। ती पुरूषले सटगनबाट आबेलाई गोली हानेको देखिएको छ। उनले गोली हान्नुको कारण भने खुलेको छैन।

जापान संसारकै सुरक्षित मुलुकमध्ये मानिन्थ्यो। त्यहाँ बन्दुक बोक्न पाउने कानुन पनि निकै कडा छ।

लामो समयसम्म प्रधानमन्त्री भएका र अहिलेको सत्तारूढ दलमा पनि बलियो प्रभाव भएका आबेमाथि गोली प्रहार भएको घटनाले संसारको ध्यानाकर्षण भएको छ

जापानका प्रधानमन्त्री फुमियो किशिदाले यो घटना घृणित कार्य भएको प्रतिक्रिया दिएका छन्।

  • २४ असार २०७९, शुक्रबार १७:१३ मा प्रकाशित
  • Nabintech