९ असाेज २०७९, आईतबार
क्यानडासँग स्तब्ध भयो नेपाल, ३ विकेट लिएपनि सन्दीपले टार्न सकेनन् हार
  • मध्यमार्ग

काठमाडौं– नेपाल दोस्रो एकदिवसीय अभ्यास खेलमा घरेलु टोली क्यानाडासँग स्तब्ध भएको छ। नेपालले ८३ रनको हार बेहोर्‍यो। योसँगै दुई खेलको अभ्यास खेलको सिरिज क्यानाडाले १–० ले जितेको छ।

जितका लागि १ सय ८९ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ३९.२ ओभरमा १०५ रनमा अल आउट भयो। नेपालका लागि देव खनालले ४९ बलमा २ चौकासहित २६ रन बनाए।

बसिर अहमद ४१ बलमा १३ र विनोद भण्डारी २३ बलमा १ छक्कासहित १३ रनमा आउट भए। आदिल अन्सारी १३ र सन्दीप लामिछाने ११ रनमा आउट भए।

करण केसी पाँच रनमा अविजित रहे। क्यानाडाका अमर खालिद, सलमान नजर, रोमेल शहजाद, साद विन जाफर र हर्ष ठकरले दुई/दुई विकेट लिए।

त्यसअघि किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानाडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन बनाएको थियो।

क्यानडाका आरोन जोनसनले ५५ बलमा ८ चौकासहित सर्वाधिक ४४ रनको योगदान दिए। अमर खालिद ३६ बलमा ३ चौका र १ छक्कासहित ३० रनमा अविजित रहे। भूपेन्द्रसिंह २८ बलमा १ चौकासहित १० रनमा आउट भए।

नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा २ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए। बसिर अहमद, आदिल अन्सारी र करण केसीले एक/एक विकेट लिए।

नेपाल अब स्कटल्यान्ड जानेछ। नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडीआई सिरिज हुनेछ।

  • २३ असार २०७९, बिहीबार ०६:४७ मा प्रकाशित
  • Nabintech