१० मंसिर २०७९, शनिबार
आफैंले पढाउने छात्रामाथि यौन दुर्व्यवहार गर्ने एक शिक्षकलाई कैद सजाय

आरोपित अर्का शिक्षकले पाए सफाइ

  • मध्यमार्ग

काठमाडौं- आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै सप्तरी जिल्ला अदालतले एक शिक्षकलाई कैद सजाय र जरिवाना तोकेको छ।

जिल्ला न्यायाधीश प्रमेश पोखरेलको इजलासले सुरुङ्गा नगरपालिका–२ स्थित जनता आधारभूत विद्यालय भेडिया, हर्दियामा अध्यापनरत शिक्षक बोदे बसाईन नगरपालिका–१० का ४० वर्षीय पशुपतिकुमार यादवलाई बुधबार तीन महिना कैद र १० हजार रुपियाँ जरिवानाको सजाय हुने फैसला गरेको हो।

चौध वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको ठहर गर्दै अदालतले २० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसलासमेत गरेको छ।

अर्का आरोपित शिक्षक सिरहा लहान नगरपालिकाका ३५ वर्षीय रामकृष्ण यादवले सफाइ पाएका छन्। आरोपितहरूले २०७५ चैतदेखि यौन दुर्व्यवहार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीमा २०७५ जेठ २६ गते उजुरी दिएकी थिइन्।

  • २२ असार २०७९, बुधबार २१:३९ मा प्रकाशित
  • Nabintech