काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बहादुर बोहराले पाएका छन्।
गृह मन्त्रालयले बुधबार ६ जना एसएसपीको काज सरुवा गर्दै काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी बोहरालाई दिएको हो।
यस्तै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखमा एसएसपी जनक भट्टराईको सरुवा गरिएको छ
प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी विष्णु केसीलाई अपराध अनुसन्धान विद्यालय महाराजगञ्जामा सरुवा गरिएको छ।
यस्तै, लागुऔषध नियन्त्रण ब्यूरो प्रमुखको जिम्मेवारी एसएसपी विकासराज खनाललाई दिइएको छ भने विपद् व्यवस्थापन महाशाखामा एसएसपी कुवेर कडायत र मानव बेचबिखन ब्यूरोमा एसएसपी अनुराग द्विवेदीलाई सरुवा गरिएको छ।
काठमाडौं परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मानव बेचबिखन ब्यूरोलगायतमा कार्यरत एसएसपी हालै डीआईजीमा बढुवा भएपछि ती कार्यालय प्रमुखविहीन भएका थिए।
२२ असार २०७९, बुधबार १७:१८ मा प्रकाशित