१७ असाेज २०७९, सोमबार
न्युजिल्यान्ड पठाउने भन्दै ६३ लाख झ्वाम् ! पक्राउ परिन् २७ वर्षीया शोभा
  • मध्यमार्ग

काठमाडौं– न्युजिल्यान्ड पठाउने भन्दै विभिन्न व्यक्तिबाट ६३ लाख रूपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी अरोपमा नुवाकोट विदुर नगरपालिका–७ घर भइ हाल काठमाडौं बूढानीलकण्ठ नगरपालिका–३ बस्ने २७ वर्षीया शोभा पौडेललाई पक्राउ गरेको हो।

पौडेललाई मंगलबार साँझ काठमाडौंको कपनबाट पक्राउ गरिएको हो।

उनले सिन्धुलीको दुधौली नगरपालिका–१ का ३१ वर्षीय नारायण बोगटीसहित ९ जना व्यक्तिलाई न्युजिल्यान्ड पठाउने भन्दै ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए।

पौडेले न्युजिल्यान्ड जानका लागि प्रतिव्यक्ति १२ लाख ५० हजार रुपैयाँ लाग्ने, त्यहाँ कृषि कम्पनीमा फलफूल टिप्ने काम लगाइदिने र १ लाख ७० हजार रुपैयाँसम्म तलब हुने भन्दै रकम उठाएको पाइएको छ।

यसरी उनले ६३ लाख २० हजार रुपैयाँ लिएर ठगी गरेको आरोप छ। रकम उठाएर उनी सम्पर्कविहीन भएकी थिइन्।

रकम लिएर सम्पर्कविहीन भएकी पौडेललाई वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेको थियो। पक्राउ पछि उनलाई विभाग पठाइएको एसपी कोइरालाले बताए।

  • २२ असार २०७९, बुधबार १५:५७ मा प्रकाशित
  • Nabintech