९ असाेज २०७९, आईतबार
काठमाडौं महानगरले सफाइमा खटायो थप जनशक्ति, यसरी हुँदैछ काम
  • मध्यमार्ग

काठमाडौं– काठमाडौं महानगरपालिकाले नगर क्षेत्रको सरसफाइ र वातावरणीय सुधारका लागि थप जनशक्ति परिचालन गरेको छ।

महानगरका अनुसार अहिले थपिएका जनशक्तिले सडक र किनारा सफाइ गर्ने, फोहोर बटुल्ने काम गरिरहेका छ्न्।

साथै, सडक किनाराको झार उखेल्ने, बर्खे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोट विरुवा गोडमेल गर्ने र काँटछाँट गर्नेजस्ता काम भइरहेको महानगरले जनाएको छ।

काठमाडौं महानगरले सहरी सरसफाइका लागि थप १ सय १५० जना जनशक्ति परिचालन गरेको हो। महानगरले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएका जनशक्ति थपेको बताइएको छ।

यसअघि नियमित सरसफाइमा काम गर्ने करिब ६ सय कर्मचारी परिचालन हुने गरेको थियो।

वातावरण तथा कृषि व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार सहरी व्यवस्थापनमा नगर प्रहरी बल परिचालनका लागि महानगरलाई ५ क्षेत्रमा बाँडिएको छ। पूर्व क्षेत्र (वडा नम्बर ६, ७, ८, ९, १०, ३१ र ३२), पश्चिम क्षेत्र (१३, १४, १५, १६, १७) उत्तर क्षेत्र (१, २, ३, ४, ५, २६ र ३०) र मध्य क्षेत्र (११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २७, २८ र २९) हुन्।

यही क्षेत्रका आधारमा जनशक्ति परिचालन गरिएको छ। सरसफाइ तथा अनुगमन शाखा प्रमुख नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार एउटा समूहमा २० देखि २२ जनासम्मलाई खटाइएको छ।

रत्नपार्क, रानीपोखरी, कमलपोखरी तथा ट्राफिक आइल्याण्डहरुको सफाइमा छुट्टै समूह बनाइएको छ। यस्तै, तत्काल परिचालन गर्न सकिने गरी १५ जना जनशक्ति राखिएको उनले बताए।

काममा खटाइएका जनशक्ति परिचालन गर्न हरेक समूहमा एक/एक जना नगर प्रहरीलाई कमाण्डर तोकिएको छ।

थप तस्बिरहरू :

  • २१ असार २०७९, मंगलबार १२:१३ मा प्रकाशित
  • Nabintech