१७ असाेज २०७९, सोमबार
अस्पतालजन्य फोहोर व्यवस्थापनको ठेक्कामा करोडौं चलखेलको तयारी
  • मध्यमार्ग

काठमाडौं– अस्पतालजन्य फोहोर व्यवस्थापनको ठेक्कामा करोडौं रूपैयाँको चलखेलको तयारी गरिएको छ। कुनै एउटा निश्चित कम्पनीलाई हुनेगरी ठेक्का आह्वान भएको पाइएको छ।

उच्च राजनीतिक नेतृत्व र विचौलियाको सेटिङमा यस्तो काम हुन लागेको भन्दै अन्य प्रतिस्पर्धी कम्पनीले विरोध समेत गरेका छन्। उनीहरूले प्रि–बिडकै दिन निवेदन दिएपनि ठेक्का हुने अघिल्लो दिनसम्म पनि कुनै संशोधन भएको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग टेकुको व्यवस्थापन महाशाखाले जेठ २२ गते खुलाएको ‘इन्टिग्रेटेड हस्पिटल म्यानेजमेन्ट सिस्टम’ सम्बन्धी ठेक्कामा यस्तो चलखेल हुन लागेको हो।

महाशखाले ७ वटा मेसिन खरिदका लागि ठेक्का आह्वान गरेको थियो । जसमा सातमध्ये ५ वटा प्रतिघन्टा २० केजी क्षमताको र २ वटा प्रतिघन्टा ५० केजी क्षमताका मेसिन हुनुपर्ने भनिएको छ।

माइक्रोवेभ टेक्नोलोली हुनुपर्ने र देशभर कम्तीमा पाँच वटा ठाउँमा जडान गरिसकेको हुनुपर्ने सीमा निर्धारण गरेको छ।  यसमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ र महाशाखा प्रमुख डा. रुद्र मरासिनीको समेत मिलोमतो रहेको स्रोतको दाबी छ। यसको प्री-बिड गर्दा खापुङ स्वास्थ्य रायमन्त्री थिए।

मशाहाखाले आह्वान गरेको ठेक्का।

हालसम्म नेपालमा एउटा मात्र कम्पनीले यो सीमा निर्धारण गरेको भन्दै अन्य कम्पनीले यसको विरोध गरेका छन्। उनीहरूले स्वास्थ्य सेवा विभाग, स्वास्थ्य सचिव, स्वास्थ्य राज्यमन्त्री र स्वास्थ्यमन्त्रीलाई समेत यस विषयमा जानकारी गराएर निवेदन दिइसकेका छन्। उनीहरूको निवेदन दर्ता पनि भइसकेको छ। तर, यसमा कुनै सुनुवाइ भएको छैन।

प्रि–बिडकै दिन यस्ता काम गर्ने अन्य सात कम्पनीले प्राविधिक सीमा पुनरवोलकनका लागि निवेदन दर्ता गराउँदा पनि हालसम्म सुनुवाइ नभएको एक कम्पनीका प्रतिनिधिले जनाएका छन्। उनका अनुसार सम्पूर्ण प्रतिस्पर्धी कम्पनीहरूलाई प्रतिस्पर्धा गर्ने वातावरण बनाउन माग गरेका थिए। उनीहरूले तीन वा तीनभन्दा बढी जडान गरेका कम्पनीले ठेक्कामा भाग लिन पाउने वातावरण मिलाउनुपर्ने उनीहरूको माग छ।

संशोधनका लागि सेन्ट्रल बिजनेस लिंकले दिएको पत्र।

भोलि ठेक्काको अन्तिम दिन हो । भोलि मंगलबार दिउँसो १२ बजे ठेक्का हाल्ने र २ बजे खोल्ने तय भएको छ।

सामान्यता यी ७ वटा मेसिन १०–१२ करोडमा खरिद गर्न सकिन्छ। तर, एउटा निश्चित कम्पनीको स्वार्थपूर्ति हुनेगरि ठेक्का आह्वान हुँदा करोडौं चलखेल हुन सक्ने दाबी गरिएको छ। विभागको सूचना अनुसार १८ करोड ४० लाख लागत निर्धारण गरिएको छ।

यी मेसिन विश्व स्वास्थ्य संगठनको ऋणबाट खरिद गर्न लागिएको हो।

यता, महाशाखाको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरासिया भने यस विषयमा अध्ययन भइरहेको बताउँछन्।

‘त्यसमा हाम्रो छलफल हुँदैछ। लागत अनुमान बनाउँदा हामीले यसअघि अन्य अस्पताल, प्रदेशमा खरिद भएको दररेटलाई आधार मानेर ठेक्का आह्वान गरेका छौं’, चौरासियाले भने। उनले आफू एउटा बैठकमा रहेको भन्दै धेरै कुरा गर्न मानेनन्।

मशाहाखाले नन् बर्न थर्मल टेक्नोलोजी (माइक्रोवेभ बेस्ड) ड्राइ हिट सोलुसन हुनुपर्ने भनेको छ। यो प्रविधि हाल नेपालमा एक कम्पनीसँग मात्र छ। अन्य व्यवसायीहरूले फ्रिक्सनल हिटमा आधारित प्रविधि प्रयोग गर्न पाउनुपर्ने माग गरेका छन्। यस्तो प्रविधिमा काम गर्ने धेरै कम्पनी रहेका र जसले ठेक्का प्रतिस्पर्धात्मक बन्ने उनीहरूको दाबी छ। त्यसो हुँदा आर्थिक चलखेको सम्भावना कम हुने व्यवसायीहरू बताउँछन्।

  • २० असार २०७९, सोमबार १६:५५ मा प्रकाशित
  • Nabintech