काठमाडौं– आगामी नोभेम्बरदेखि कतारमा हुने विश्वकपका लागि १८ लाख टिकट बिक्री भएको। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पहिलो चरणमा हालसम्म १८ लाख टिकट बिक्री भएको जानकारी दिएको छ।
नोभेम्बर २१ देखि सुरु हुने २८ दिने प्रतियोगिताका लागि फिफाले ३० लाख टिकट बिक्री हुने अपेक्षा गरेको छ। फिफाले दोस्रो चरणमा जुलाई पाँचदेखि टिकट बिक्री गर्ने जनाएको छ।
विश्वकपका लागि फिफाले आयोजक कतारका लागि विशेष श्रेणीको टिकटको व्यवस्था गरेको छ। यस्तै, फिफाले खाडी मुलुकका समर्थकले सबैभन्दा धेरै टिकट खरिद गरेको बताएको छ।
आयोजक कतारबाहेक, क्यानडा, इंग्ल्यान्ड, फ्रान्स, जर्मनी, भारत, साउदी अरब, स्पेन, संयुक्त अरब इमिरेट्स (युएई) र अमेरिका सबैभन्दा धेरै टिकट खरिद गर्ने राष्ट्र रहेको फिफाले जनाएको छ।
१६ असार २०७९, बिहीबार ०६:५४ मा प्रकाशित