२० असाेज २०७९, बिहीबार
कांग्रेस प्रवक्ता महतको दाबी : एमसीसी अनुमोदनमा एमालेको पनि सहयोग छ
  • मध्यमार्ग

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पनि सहयोग रहेको दाबी गरेका छन्।

सोमबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता महतले राजनीतिक कारणले सम्झौता संसद्‌बाट अनुमोदन गराउन एमालेले औपचारिक रुपमा सहभागिता नजनाएपनि अनौपचारिक रुपमा सहयोग गरेको बताएका हुन्।

उनले एमसीसीबारे सकारात्मक दृष्टिकोण राखि संसद्‌बाट पारित गराउन अनौपचारिक ढंगले भएपनि सहयोग गरेको भन्दै एमालेलाई धन्यवाद समेत दिए। सो परियोजना संसद्‌बाट अनुमोदन गराउन परिपक्व, सुझ्बुझपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै नेपाली जनताले आफ्नो पार्टीको प्रशंशा गरेको प्रवक्ता महतको भनाइ थियो।

‘एमसीसी सही ढंगले संसद्ले पारित गर्‍यो। त्यसमा विपक्षी दलको राजनीतिक कारणले औपचारिक सहभागिता नभएपनि उहाँहरुको पनि यसमा सहयोग रह्यो। हामीले यसरी बुझेको छौं। समग्रमा अपवाद बाहेक सबैको सहयोगबाट संसद्ले एमसीसी परियोजनालाई पारित गरेको छ। अब यसमा रहेको भ्रम र अन्योलको माहौललाई समाप्त गरेको छ’, महतले भने, ‘र, यो क्रममा हाम्रो पार्टी सभापति, प्रधानमन्त्री आदरणीय शेरबहादुर देउवाजीको सुझबुझपूर्ण, परिपक्वता र धैर्यताले यो विन्दुमा समझदारीकासाथ यो परियोजनालाई संसद्‌बाट पारित गर्ने आधार तयार भयो। नेपाली कांग्रेस पार्टी नै एउटा यस्तो पार्टी हो, जसले परिपक्व निर्णय गर्छ। र, निर्णय गरिसकेपछि त्यसमा उभिन्छ भन्ने सन्देश पनि गएको छ’

प्रवक्ता महतले एमसीसी सम्झौता पारित गराउन सबै दलको सहयोग रहेसँगै सोबारे जनस्तरमा उठेका भ्रमहरुको पनि निवारण भएको विश्वास व्यक्त गरे। उनले एमसीसीबारे जनस्तरमा अझै केही भ्रम भए त्यसलाई निवारण गरेर अघि बढ्न आफ्नो पार्टी लागिरहने प्रतिवद्धता समेत जनाए।

एमसीसी परियोजना विशुद्ध विकास सहयोग भएको उल्लेख गर्दै उनले त्यसबारे नकारात्मक दृष्टिकोण राखिरहन आवश्यक नभएको तर्क गरे। एमसीसीको डकुमेन्ट र संसद्‌बाट पारित व्याख्यात्मक घोषणाले पनि एमसीसीबारे नकारात्मक टिप्पणी गर्नुपर्ने अवस्था नभएको उनको भनाइ छ।

‘बाँकी अझै केही भ्रम र अफवाह छन् भने त्यसलाई पनि नेपाली कांग्रेस पार्टीले मेट्न निरन्तर लागिरहन्छ। र, अझै पनि यस विषयलाई लिएर जो नकारात्मक दृष्टिकोण राखिरहनु भएको छ। उहाँहरुलाई पनि हामी अनुरोध गर्न चाहन्छौं–यो शुद्ध विकास सहयोग हो। विकास परियोजना हो। यसको अरु कुनै मक्सद छैन।’

महतले यो परियोजनाको रकम विद्युत प्रशारण लाइन र सडक परियोजनामा खर्च हुने भन्दै त्यसको कार्यान्वयनमा आफ्नो कांग्रेस केन्द्रित हुने बताए। यो परियोजना संसद्‌बाट अनुमोदन भएसँगै नेपालको आवश्यक्ता अनुसार बाह्य लगानी आउने नयाँ नजिर स्थापित भएको पनि उनको भनाइ छ।

  • १६ फागुन २०७८, सोमबार १६:५३ मा प्रकाशित
  • Nabintech