२१ माघ २०७९, शनिबार
कविता : मलाई मान्छेसँग डर लाग्छ
  • गोविन्द रिजाल

गोविन्द रिजाल।

अचेल मलाई
मान्छेसँग डर लाग्छ
अर्थात्
मुखुण्डो लगाएका
मान्छेसँग।

परिचित पनि
परिचित जस्ता छैनन्
आफन्त पनि
वैरी जस्ता देखिन्छन्
सबका सब छद्म भेषमा
हिँड्न थालेपछि
साच्चै,
अचेल मलाई
मान्छेसँग डर लाग्छ।

बरू बाघ भेटिए
यसो भलाकुसारी हुन्थ्यो
क्षेम कुशल सोधिन्थ्यो
हात्ती भेटिए नि
सँगै लम्किनु हुन्थ्यो गन्तव्यमा
सर्प, बिच्छी, बारूलो
जे भेटिए पनि हुन्छ
तर मान्छे नभेटिए हुन्थ्यो
किनकि
अचेल मलाई
मान्छेसँग डर लाग्छ।

होइन कहिलेसम्म
हेर्न पर्ने हो
नाक मुख नभएका
मान्छेहरू
अनुहार नभएका मान्छेहरू
एउटा सग्लो मान्छे
भेट्न पनि कति दिन, महिना
वर्ष कुर्नुपर्ने हो?
अनुहार नभएका मान्छेहरू
मात्र देखेर होला
सत्य, मरिजाऊ
अचेल मलाई
मान्छेसँग डर लाग्छ।

अनुहार नभएका मान्छेहरू
काल हुन् कि यमराज हुन्
किटाणु हुन् कि भाइरस हुन्
शत्रु हुन् कि मित्र हुन्
कसरी छुट्टयाउनु र
यिनै नाङ्गो आँखाको
प्रयोगशालाबाट,
अहँ म छुट्टाउन सक्दिनँ
त्यसैले बिन्ती छ
आँखासामु नआइदिनोस्
अचेल मलाई
मान्छेसँग डर लाग्छ।

मुखुण्डोधारी मान्छेहरू
कालजस्तै देखिन्छन्
किटाणुजस्तै देखिन्छन्
जिउँदा भाइरसजस्तै देखिन्छन्
मान्छेसँगको विश्वास टुटेपछि
धरोधर्म,
अचेल मलाई
मान्छेसँग डर लाग्छ।

त्यसैले त,
म गुमनाम छु अचेल
गुप्तवासमा छु
यस्तो लाग्छ
बरू एउटा भूत भेटियोस्
एउटा राक्षस भेटियोस्
ठीकै छ
तर, नभेटियोस्
एउटा मात्र पनि
अनुहार हराएको मान्छे
किनकि,
रामोराम
अचेल मलाई
मान्छेसँग डर लाग्छ
छद्मरूपी
अनुहारविहीन मान्छेसँग।

(लेखक काठमाडौंका प्रमुख जिल्ला अधिकारी हुन्)

  • ३ माघ २०७८, सोमबार १६:२१ मा प्रकाशित
  • Nabintech