९ असाेज २०७९, आईतबार
त्रिविको समस्या वार्ताबाट समाधान गर्न मानवअधिकार आयोगको आग्रह
  • मध्यमार्ग

राष्ट्रिय मानवअधिकार आयोगले त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या वार्ता र संवादका माध्यमबाट समाधान गर्न आग्रह गरेको छ। प्रवक्ता डा. टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्।

विभिन्न माग राखी शैक्षिक संस्थामा लामो समयदेखि तालाबन्दी गरिँदा शिक्षाको अधिकार उपभोगमा पर्न जाने असरप्रति संवेदनशील भई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आयोगले भनेको छ।

‘विश्वविद्यालयबाट सञ्चालन हुने पठनपाठन, परीक्षा लगायतका कुनै नियमित गतिविधिमा अवरोध नपुर्‍याउन, आन्दोलनरत पक्ष र पदाधिकारीहरूबीच वार्ताको वातावरण बनाई विद्यार्थीहरुको पठनपाठन गर्न पाउने अधिकारको संरक्षणका लागि आवश्यक पहल गर्न आयोग त्रिभुवन विश्वविद्यालय पदाधिकारी तथा सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

आयोगले नेपाल विद्यार्थी संघ र आंशिक प्राध्यापक संघसमेतबाट विभिन्न मागहरु राखी विगत केही महिनादेखि त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय, शिक्षाध्यक्षको कार्यालय र रजिष्ट्रारको कार्यालय लगायतमा तालाबन्दी हुँदा बन्दबाट सिर्जित अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आयोगले विश्वविद्यालयको स्थलगत अनुगमन, विद्यार्थीहरुसँग छलफल तथा विश्वविद्यालयका पदाधिकारीसँग जानकारी पनि लिएको छ।

  • १६ फागुन २०७८, सोमबार १६:१३ मा प्रकाशित
  • Nabintech