२० असाेज २०७९, बिहीबार
नासुको कमाइ चार वर्षमै ६ करोड २४ लाख!
  • मध्यमार्ग

काठमाडौं- एकजना पूर्व नायब सुब्बाले आफ्नो जागिरको चार वर्षे अवधिमा ६ करोड २४ लाख रूपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको पाइएको छ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीले जागिरे जीवनको झण्डै पाँच वर्षको अवधिमा ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ कमाएको पाइएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दामा दायर गरेको छ। अख्तियारका अनुसार भण्डारीले २०७३ असोज २१ गते राजपत्र अनंकित प्रथम श्रेणी अन्तर्गत वरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए। उनले २०७७ साउनमा स्वेच्छिक अवकाश लिएका थिए।

गुल्मीको मालिका गाउँपालिकाका स्थायी बासिन्दा भण्डारी विध ल्याब सञ्चालन गर्ने विध म्यानेजमेन्ट प्रालिका सञ्चालक पनि हुन्। उक्त कम्पनी सूचना प्रविधि, इलेक्ट्रोनिक्स र मल, कागज जस्ता ठूला ठेक्कामा पनि संलग्न हुन थालेको थियो।

उनको खर्च र लगानी (जग्गा खरिद, बैंक तथा हाइड्रोपावर कम्पनीको शेयर खरिद तथा बैंकमा जम्मा रकम) ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

विशेष, अदालतमा दायर गरिएको मुद्दामा अख्तियारले ६ करोड २४ लाख ६५ हजार रुपैयाँ बिगो दावी गरेको छ। उनीसँग रहेको ६ करोड ६ लाख ४१ हजार ८१३ रुपैयाँ र अपुग १७ लाख ६२ हजार उनको एकल स्वामित्वमा रहेको कम्पनीहरुबाट जफत गर्न अख्तियारको आरोपपत्रमा माग गरिएको छ।

अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवाना पनि माग गरेको छ।

  • ३ असार २०७९, शुक्रबार १९:३५ मा प्रकाशित
  • Nabintech