१७ असाेज २०७९, सोमबार
एसपीपीका लागि ओलीको पालामा सेनाले पत्र पठाएको खुलासा, आधिकारिकता जाँच्दै सेना
  • मध्यमार्ग

 

काठमाडौँ, २ असार । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक २०७२ सालमा सरकारको नेतृत्व गरेकै समयमा नेपाली सेनाले नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी) सम्झौताका लागि पत्र पठाएको खुलेको छ ।

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले पत्र पठाएको खुलासा भएको छ ।

तत्कालीन प्रधानसेनापति क्षत्रीले नेपालस्थित तत्कालीन अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई औपचारिक पत्राचार गरेका छन् ।

पत्रमा नेपाल सरकारको तर्फबाट एनजीएसएसपी कार्यक्रममा निकट भविष्य नै सामेल हुन इच्छुक रहेको उल्लेख छ ।

यस्तै, दोस्रो बुँदामा भने यस कार्यक्रममा सहभागी हुँदा यसले दीर्घकालीन तथा दुई पक्षलाई नै फाइदा पुग्ने गरी सुरक्षा सम्बन्ध मजबुत हुनुका साथै सैन्य कुशलता तथा अनुभव आदानप्रदानमा सहयोग पुग्ने तथा सुरक्षा ज्ञान आदानप्रदान गर्न मद्दत पुग्नुका साथै सुरक्षा समन्वयमा थप क्षमता वृद्धि हुनेछ ।

यस कार्यक्रमले दुवै पक्षको चाहना रहेको प्रकोप प्रतिकार्य तयारी तथा व्यवस्थापन, वायुसेवा पूर्वाधार व्यवस्थापन र सुरक्षा आदानप्रदान र संवेदनशील पूर्वाधार विकासका साथै नेपाली सेनाका अधिकारीहरुको व्यावसायिकरण र विकासमा सहयोग पुग्नेछ ।

साथै, तेस्रो बुँदामा नेपाली सेना यस कार्यक्रमका लागि तत्पर रहेको हुँदा नेपालस्थित अमेरिकी दूतावासलाई उच्च प्राथमिकता दिन आग्रह गरिएको छ । यसैबीच नेपाली सेनाको मुख्यालयमा आकस्मिक बैठक बसिरहेको छ । बैठकले बिहीबार सार्वजनिक पत्रबारे आधिकारिकता पुष्टि गर्ने बताइएको छ ।

वुधबार मात्रै सेनाले कुनै पनि सैन्य सम्झौतामा नेपाली सेना नरहेको स्पष्ट पारेको थियो ।

हेर्नुस् पत्रः

  • २ असार २०७९, बिहीबार १९:१९ मा प्रकाशित
  • Nabintech