काठमाडौं- निर्वाचन आयोगले चुनावसम्बन्धी सन्देशमुलक भिडिओ प्रचारप्रसार गरे पुरस्कार दिने भएको छ। २० लाखदेखि ५० लाखसम्म भ्युज बनाउनेलाई नगद पुरस्कार दिने आयोगले जनाएको छ।
आयोगले एक सूचना जारी गरी निर्वाचन सन्देशमूलक भिडिओ सन्देश प्रचार गर्ने प्रतियोगिता राखिएको जानकारी दिएको छ। स्थानीय तह सदस्य निर्वाचनको प्रचार प्रसारका लागि आयोगले तयार गरेका सन्देशमूलक भिडियोहरु आयोगको ट्विटर, युट्युब, फेसबुक, भाइबर लगायतका सामाजिक सञ्जालहरुमा अपलोड भइसकेका छन्।
आयोगले बनाएका यी सन्देशमुलक भिडिओ आफ्नो पेज, एकाउन्ट र संस्थाका पेजमा अपलोड गर्न सकिने आयोगले बताएको छ। आयोगका भिडिओ वैशाख २९ गतेभित्र फेसबुक, युट्युब, टिकटकलगायतमा पोस्ट गर्ने, सेयर गर्ने र २० देखि ५० लाख भ्युज बनाउनेलाई नगद पुरस्कार दिइने आयोगले बताएको छ।
आयोगले ५० लाख भ्युज बनाउनेलाई ५० हजार, ३० लाख भ्युज बनाउनेलाई ३० हजार र २० लाख भ्युज बनाउनेलाई २० हजार नगद पुरस्कार दिने जनाएको छ।

१८ बैशाख २०७९, आईतबार १०:१७ मा प्रकाशित