९ असाेज २०७९, आईतबार
एनभीए क्लब भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो दिन तीन खेल
  • मध्यमार्ग

काठमाडौं- छैटौं संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगको खेल तालिका सार्वजनिक भएको छ।

आयोजक नेपाल भलिबल संघले आइतबारबाट सुरु हुने लिगको खेल तालिका शनिबार सार्वजनिक गरेको हो।

संघले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो दिन पुरुषतर्फ तीन खेलहरु हुनेछन्।

पहिलो खेलमा गण्डकी प्रदेश र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। यो खेल बिहान १० बजेदेखि सुरू हुनेछ।

दोस्रो खेलमा नेपाल पुलिस क्लब र गल्कोट स्पोर्ट्स क्लबबीच खेल हुनेछ। यो खेल मध्याह्न १२ बजेदेखि सुरू हुनेछ।

यस्तै, तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। यो खेल दिउँसो २ बजेदेखि सुरू हुनेछ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आयोजना हुने लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेको छ।

यता, महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यू डायमण्ड र एभरेस्ट मावि रहेको छ।

विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन्।

सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५/३५ हजार पाउँदा व्यक्तिगत विधा तर्फ उत्कष्ट सेटर, ब्लकर सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५/१५ हजार प्राप्त गर्नेछन्।

  • १७ बैशाख २०७९, शनिबार २१:३७ मा प्रकाशित
  • Nabintech