९ असाेज २०७९, आईतबार
८ खेलमा जित निकाल्दै गुजरात प्लेअफनजिक
  • मध्यमार्ग

काठमाडौं- गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा शीर्ष स्थानमा रहँदै प्लेअफनजिक पुगेको छ।

शनिबार रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै गुजरात प्लेअफनजिक पुगेको हो।

जितका लागि १ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। गुजरातको जितमा राहुल टेवाटिया सर्वाधिक ४३ रनमा अविजित रहे। उनले २५ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

यता, डेविड मिलर २४ बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे। पाँचौं विकेटका लागि मिलर र टेवाटियाले ७९ रनको अविजित साझेदारी गर्दै जित पक्का गराए।

सुभमन गिल ३१, ओपनर ऋद्धिमान शाह २९, शाई सुदर्शन २० र कप्तान हार्दिक पान्ड्या ३ रनमा आउट भए। बैंगलोरका स्पिनर वानिन्दु हसरंगा र शहबाज अहमदले २/२ विकेट लिए।

त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७० रन बनाएको थियो। बैंगलोरका विराट कोहलीले सर्वाधिक ५८ रन बनाए। उनले ५३ बलमा ६ चौका र १ छक्का प्रहार गरे। कोहलीको जारी सिजनमा पहिलो अर्धशतक हो।

दोस्रो विकेटका कोहली र राजत पाटिदरले ९९ रनको साझेदारी गरेका थिए। पाटिदर ३२ बलमा ५ चौका र २ छक्कासहित ५२ रनमा क्याच आउट भए।

तल्लोक्रमका ग्लेन म्याक्सवेलले १८ बलमा ३ चौका र २ छक्कासहित ३३ रन बनाए। महिपाल लोमरले १६ रन बनाए। गुजरातका प्रदीप संगवानले २ विकेट लिए। यता, मोहम्मद शामी, राशिद खान, लोकी फर्गुसन र अल्जारी जोशेफको नाममा १/१ विकेट रह्यो।

गुजरात ९ खेलमा ८ जित र १ हारसहित १६ अंक जोड्दै शीर्ष स्थानमा छ। बेंगलोर १० खेलमा ५ जित र ५ हारसहित १० अंकका साथ पाँचौं स्थानमा छ।

  • १७ बैशाख २०७९, शनिबार २०:३७ मा प्रकाशित
  • Nabintech