९ असाेज २०७९, आईतबार
भोलिदेखि एसईई, जापानमा पनि हुने
  • मध्यमार्ग

 

काठमाडौँः माध्यामिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ । कोरोनाभाइरस महामारीका कारण शैक्षिक वर्ष २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनलाई कै आधारमा प्रमाणीकरण गरिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष भने भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न लागेको हो ।

२०७८ को एसईईमा कुल ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुनेपरीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

जसमा नियमिततर्फ ४ लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जनाएको छ ।

यसपालि एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट २९ जना विद्यार्थी सहभागी हुनेछन् ।

बोर्डले दुई हजार सात परीक्षा केन्द्र र एक उपकेन्द्रबाट परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । बोर्डले यो वर्ष नवलपुर जिल्लामा एक उपकेन्द्र तोकेको छ ।

सामान्यतर्फ ११ हजार ६१५ विद्यालय र प्राविधिकतर्फ २९९ विद्यालयका विद्यार्थीहरु यो वर्ष एसईईमा सहभागी हुनेछन् ।

यस वर्ष ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा केन्द्रले जनाएको छ ।

जापानबाट पनि एसईई दिँदै

जापानमा सञ्चालित विद्यालयमा पनि शुक्रबार नै एसईई सुरु हुँदैछ । जापानको टोकियोस्थित नेपाली स्कुल एभरेष्ट इन्टरनेशनलमा पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुन लागेको हो ।

परीक्षाको लागि प्रश्नपत्र अनलाइनमार्फत परीक्षा सञ्चालन हुन आधा घन्टा अघि पठाउने तयारी गरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यो वर्ष भने जापानबाट १९ जना विद्यार्थी सहभागी हुनेछन् । विद्यार्थीको उत्तरपुस्तिका केन्द्राध्यक्षले रुजु गरेर सिलबन्दी गरी नेपाल पठाउनेछन् । गत वर्ष २४ जना विद्यार्थीले एसईई उत्तीर्ण गरेका थिए ।

परीक्षा वैशाख २० गते सकिनेछ ।

  • ८ बैशाख २०७९, बिहीबार २०:१५ मा प्रकाशित
  • Nabintech